राजेन्द्रप्रसाद पनेरु /कञ्चनपुर : एनोफिलिज जातको पोथि संक्रमित लामखुट्टेको टोकाईबबाट हुने औलो रोगका आयातीत विरामीको सङख्या सुदूरपश्चिममा बढ्दो रुपमा रहेको छ । भारतमा मजदुरी गरेर फर्कने व्यक्तिहरुमा औलोको संक्रमण बढी देखिने गरेको छ । स्थानिय भन्दा भारतबाट फर्कने व्यक्तिहरु औलोको उच्च जोखिममा पर्दै आएका छन ।सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका किटजन्य रोग अधिकृत हेमराज जोशीका अनुसार आब ०८०/८१ को साउन महिना देखि असार मसान्त सम्म औलाका विरामीको सङख्या दुई सय ४७ रहेकोमा जस मध्ये आयातीत विरामीको सङख्या दुई सय २९ रहेको छ । स्थानिय औलोका विरामीको सङख्या १८ जना मात्रै रहेको छ । औलोका दुई परजीविहरु प्लाज्मोडियम फाल्सिपारम र प्याज्मोडियम भाइभेक्सबाट औलो सर्ने गर्दछ । भाइभेक्स भन्दा प्लाज्मोडियम फाल्सिपारम बढी जोखिमयुक्त हुने गरेको छ । समयमै उपचार नभए फाल्सिपारमबाट विरामीको मृत्यु हुन सक्ने संभावना उच्च रहने गर्दछ । अधिकृत जोशीका अनुसार सुदूरपश्चिममा अयातीत पाँच वर्ष माथिका प्लाज्मोडियम भाइभेक्सबाट संक्रमित पुरुष एक सय ४६ र महिला ३३ रहेका छन । प्लाज्मोडियम फाल्सिपारमबाट पाँच वर्ष माथिका २४ जना पुरुषमा संक्रमण देखा परेको छ । स्थानिय प्लाज्मोडियम भाइभेक्सबाट पाँच वर्ष माथिका पुरुष आठ जना र महिला तीन जना संक्रमित भएकोमा प्लाज्मोडियम फाल्सिपारमबाट तीन जना पुरुष संक्रमित भएका छन ।

आयातीत पाँच वर्ष मूनिका प्लाज्मोडियम भाइभेक्सबाट पुरुष दुई जना र महिला एक जनामा संक्रमण देखिएको छ । त्यसैगरी आयातीत १८ जना पुरुष र दुई जना महिला प्लाज्मोडियम भाइभेक्सको संक्रमण दोहरीएको अबस्थमा पाईएको अधिकृत जोशीको भनाई रहेको छ । सबै भन्दा बढी आयातीत औलाका विरामी कैलालीमा एक सय ३५, कञ्चनपुरमा २९ र अछाममा २४ जना रहेका छन । त्यस पछि डोटीमा १६, बाजुरामा १५, डडेल्धुरामा सात, बैतडीमा ४ र दार्चुलामा दुई जना औलोका आयातीत विरामी फेला परेका छन । बझाङ जिल्लामा भने सो अबधिमा कुनै पनि औलोका विरामी भेटिएका छैनन् । “वर्षेनी भारतबट फर्कने व्यक्तिहरुमा औलोको संक्रमण देखिदै आएको छ, स्थानिय औलाको विरामी न्यून मात्रामा रहेपनि आयातीत विरामीको सङख्या बढ्दो छ” अधिकृत जोशीले भन्नुभयो, “खुला सीमा नाकाका कारण औलो नियन्त्रण गर्नमा चुनौती छ, सीमा नाकामै औलोका संकास्पद विरामीको रगत चेकजाँच गर्ने व्यवस्थालाई भरपर्दो बनाईनु पर्छ ।”
तराई क्षेत्रमा औलो रोग देखिनु सामान्य भएपनि जलवायु परिवर्तनको असरले पृथ्वीको तापक्रम बढदा पछिल्लो केही वर्ष देखि पहाडी देखि उच्च हिमाली जिल्लामा पनि औलोका आयातीत संगै स्थानिय विरामी फेला पर्न थालेका छन ।

तापक्रमको उतारचढावका कारण लामखुट्टेले बस्नका लागि वातावरण अनुकुल बनाएको उहाँको भनाई रहेको छ । लामखुट्टे यातायातका साधनको ओहरदोहर गर्ने क्रम संगै पहाडी र हिमाली जिल्लामा पुगेको उहाँ बताउनु हुन्छ ।औलो एनोफिलिज जातको संक्रमित पोथी लामखुट्टेको टोकाईबाट हुने एक प्रकारको सरुवा रोग भएको उल्लेख गर्नु हुदै उहाँले औलो लागेको व्यक्तिलाई लामखुट्टेले टोक्दा रगतसँगै औलोको परजिवि पनि चुस्दछ र लामखुट्टे संक्रमित हुने भएकाले त्यस्ता संक्रमित लामखुट्टेले स्वस्थ मानिसलाई टोकेमा औलो सर्ने गरेको बताउनु भयो ।उहाँका अनुसार औलो रोग निवारणका लागि किटनासक झुल वितरण, किटनासक बिषादी छर्कने कार्य संगै जनचेतना फैलाउने कार्य प्रदेशका नौ वटै जिल्लामा गरिदै आएको छ ।औलोबाट बच्न साँझ विहानको समयमा पुरै शरिर ढाक्ने लुगा लगाउने, शरीरको खुला भागमा किटनाशक मलम लगाउने,घरभित्र, घरबाहिर, आँगनमा बस्दा लामखुट्टे धपाउन धूप बाल्ने, सुत्ने बेलामा झुलको प्रयोग गर्ने,घर वरिपरि सफा राख्ने, घर वरीपरि पानी जम्न दिनु हुदैन ।औलो रोगबाट बच्ने उत्तम उपायनै लामखुट्टेलाई टोक्न नदिनुनै हो । नेपालबाट औलो सन् २०२५ भित्रै निवारण गरी विरामीको सङख्या शून्यमा झार्ने लक्ष्य लिईएको छ ।







