राजेन्द्रप्रसाद पनेरु / कञ्चनपुर : सुदूरपश्चिम प्रदेशमा डेंगु संक्रमितको सङख्या दुई सय ६४ पुगेको छ । स्वास्थ्य निर्देशनालय डोटीका महामारीजन्य सम्पर्क व्यक्ति हेमराज जोशीका अनुसार सबै भन्दा बढी कैलालीका ५६, अछामका ५५ र डोटीमा ५५ जनामा डेंगुको संक्रमण देखिएको छ ।कञ्चनपुरमा ३९, दार्चुलामा २०, बाजुरामा १७, बैतडीमा ८, डडेल्धुरामा ९ र बझाङमा ५ जनामा डेंगुको संक्रमण देखिएको सम्पर्क व्यक्ति जोशीले जानकरी दिनु भयो ।उहाँका अनुसार जनवरीमा १३, फ्रेवुअरीमा २४, मार्चमा ३८, अप्रैलमा ३४, मेमा २५, जुनमा ५२, जुलाईमा ५४ र अगष्टको हाल सम्ममा २४ जनामा डेंगुको संक्रमण देखिएको छ । डेंगुको संक्रमणबाट भने हाल सम्म सुदूरपश्चिमका कुनै पनि जिल्लामा कसैको मृत्यु भने नभएको उहाँको भनाई रहेको छ । एडिज जातको संक्रमित पोथी लामखुट्टेको टोकाईबाट डेंगुको संक्रमण फैलिने गर्दछ ।

“जलवायू परिवर्तनको असरले पृथ्वीको तापक्रम बढ्दा तराई क्षेत्रमा मात्रै पाईने लामखुट्टे पहाडी र उच्च हिमाली जिल्लाहरुमा पनि पाईन थालेपछि डेंगु लगायतका किटजन्य रोगको संक्रमण बढन थालेको छ” उहाँले भन्नुभयो, “डेंगु चुनौतीका रुपमा देखा पर्न थालेको छ,पछिल्ला तथ्याङ्क असार महिनाबाट डेंगुका विरामीहरुको सङख्या बढ्दै गएर साउन, भदौ, असोज महिना सम्म उच्च हुने गरेका छन ।” क्रमशः चिसो बढ्दै गएपछि डेंगुका विरामीको संख्यामा पनि कमी हुदै जाने गरेको देखिएको उहाँले उल्लेख गर्नु भयो । डेंगुबाट बच्नका लागि पुरा बाहुला भएको लुगा लगाउने, झुल भित्र सुत्ने, घरको झयाल ढोकामा लामुखुट्टे नछिर्ने जाली लगाउने,घरवरीपरी पानी जन्म नदिने, गमला, प्लेट, फुलदानी, कुलर आदीको पानी हप्तामा एक पटक फेर्नु पर्ने हुन्छ ।

यसैगरी, पानी जम्मा हुने भाँडोलाई लामुखट्टे छिर्न नसक्ने गरी छोप्ने, साँझ, विहान करेसाबारीमा जाँदा, घरबाहिर टहलिदा लामखुट्टेले नटोकोस भनेर पुरै सावधानी अपनाउनु पर्ने हुन्छ । डेंगु सार्ने लामखुट्टेले विशेष गरी दिउसो बढी सक्रियभै टोक्ने भएकाले सावधानी अपनाउनु पर्ने जोशीले बताउनु भयो । डेंगुको संक्रमण भएमा एक्कासी ज्वरो आउने, टाउको मांसपेशी तथा जोर्नि दुख्ने,थकान महशुस हुने, वाकबाकि लाग्ने र बान्ता हुने, दैनिक खानपान वा अन्य कामकुरामा रुचि नलाग्ने हुन्छ । यी लक्षणहरु देखिएमा नजिकैको स्वास्थ्य संस्था वा अस्पतालमा उपचारका लागि जानु पर्दछ । डेंगुको संक्रमण रोकथामका लागि प्रदेशका विभिन्न जिल्लाका पालिकाहरुमा लामखुट्टेको वासस्थान खोजी गरी लार्भा नष्ट गर्ने कार्यक्रम सञ्चालन गरिएका छन ।







