कञ्चनपुर : जिल्लाको दक्षिणी क्षेत्रका सामुदायिक वनहरुले अन्तिम संस्कार(दाहसंस्कार)का लागि अति विपन्न परिवारलाई निःशुल्क रुपमा दाउरा उपलव्ध गराउने व्यवस्था गरेका छन । कुण्डा सव डिभिजन वन कार्यालय अन्र्तगत पर्ने २३ वटा सामुदायिक वनले आर्थिक रुपमा विपन्न, दाउरा खरिद गर्न नसक्ने हैषियतका बासिन्दालाई निःशुल्क रुपमा दाउरा उपलव्ध गराउदै आएका हुन । सामुदायिक वनका उपभोक्ता नभएका अति विपन्न परिवारलाई उपभोक्ता सरहनै दाहसंस्कारका लागि दाउरा उपलव्ध गराउने व्यवस्था गरिएको वन कुण्डा सव डिभिजन वन कार्यालयका प्रमुख दिनेशकुमार यादवले बताउनु भयो ।
“विपन्न परिवार संगै सामुदायिक वनको उपभोक्ता नभएका अन्य गैर उपभोक्तालाई पनि सामुदायिक वनको नियम अनुसार दाहसंस्कारका लागि सामुदायिक वनले दाउरा उपलव्ध गराउदै आएका छन” उहाँले भन्नुभयो, “दाहसंस्कारका लागि दाउराको अभाव हुन नदिनका लागि यस्तो व्यवस्था मिलाएका हौं ।” बेलौरी नगरपालिकाको बन्तरियामा रहेको अमर स्मृति सामुदायिक वनका अध्यक्ष खडक चौधरीले नियम अनुसार दाहसस्कारका लागि अति विपन्न परिवारलाई निःशुल्क रुपमा दाउरा उपलव्ध हुदै आएको बताउनु भयो । गैरउपभोक्ता रहेका परिवारलाई दाहसंस्कार गर्न दाउरा आवश्यक परे उपभोक्ता सरहनै दाउरा उपलव्ध गराउने कार्य हुदै आएको उहाँको भनाई रहेको छ ।
“दाहसंस्कारका लागि दाउरा उपलव्ध गराउने कार्यमा विभेद गरेका छैनौं” उहाँले भन्नुभयो, “उपभोक्तालाई जुन नियम अनुसार दाउरा उपलव्ध गराउछौं, त्यसै अनुसार गैर उपभोक्तालाई पनि दाउरा उपलव्ध गराउने कार्य गरिदै आएको छ ।” वन कार्यालय अन्र्तगत पुर्नवास नगरपालिका, बेलौरी नगरपालिकाका पुरै र बेलडाँडी गाउँपालिकामा रहेका केही सामुदायिक वन पर्दछन । कार्यालयको मातहतमा २३ वटा सामुदायिक वन उपभोक्ता समुह, तीन वटा धार्मिक वन रहेका छन ।