कञ्चनपुरको श्री शहीद स्मृति सामुदायिक वनमा वृक्षारोपण

कञ्चनपुर : कञ्चनपुरको एक सामुदायिक वनमा वृक्षारोपण गरिएको छ। शनिबार भीमदत्त नगरपालिका -०३ तिलकपुरमा रहेको श्री शहीद स्मृति सामुदायिक वनमा वृक्षारोपण गरिएको हो। वृक्षारोपणमा नेपाली सेना, नेपाल प्रहरी, चुरे संरक्षण सञ्जाल, जिल्ला वन कार्यालयका पदाधिकारी, जनप्रतिनिधि एवम् स्थानीय लगायतको सहभागिता रहेको श्री शहीद स्मृति सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष कर्ण बहादुर बिष्टले जानकारी दिएका छन्।

जिल्ला वन कार्यालय कञ्चनपुरको सहयोगमा वृक्षारोपण कार्यक्रम आयोजना गरिएको उपभोक्ता समुहका अध्यक्ष बिष्टले बताएका छन् । उनले भने ‘१ हजार बिरुवा जिल्ला वन कार्यालयले निशुल्क वितरण गरेको थियो जसमा ६ सय बिरुवा सालका, ४ सय बिरुवा विभिन्न फलफूलका थिए। ति बिरुवाहरू वनको खाली रहेको क्षेत्रमा लगाएका छौँ।’ बर्सातको समयमा खन्याखोलाले गर्ने क्षतिलाई रोक्न पनि वनमा वृक्षारोपण जरूरी रहेको हुँदा यो वर्षदेखि वृक्षारोपण सुरु गरिएको उनको भनाई रहेको छ। आगामि दिनमा पनि वृक्षारोपण कार्यक्रमलाई निरन्तरता दिने उनले प्रतिवद्धता गरेका छन्।

त्यसैगरी चुरे संरक्षण सञ्जाल नेपाल कञ्चनपुरका अध्यक्ष रविन्द्र कुँवरले भूक्षय रोक्न वृक्षारोपण जरूरी भएको बताएका छन् । उक्त क्षेत्रमा खन्याखोलाले समेत क्षति गर्ने हुँदा रैथाने प्रकारका बिरुवाहरू लगाउनुपर्ने उनले बताएका छन् ।उनले भने ‘खन्याखोलाले पनि यो क्षेत्रमा क्षति गर्ने गरेको छ, अनि खन्याखोलाको धार परिवर्तन हुन्छ थाहा हुन्न त्यही भएर रैथाने प्रकारका बिरुवाहरूको उमेर पनि बढी हुने र भूक्षय पनि रोक्ने हुँदा त्यस्ता बिरुवाहरू लगाउन उपयुक्त हुन्छ।’

वृक्षारोपण कार्यक्रममा श्री श्रीदल गुल्म भगतपुर ब्यारेकका गुल्मपति राजीव जङ्ग ठकुरी, चुरे संरक्षण सञ्जाल नेपाल कञ्चनपुरका अध्यक्ष रविन्द्र कुँवर, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक बिर बहादुर बोहरा, श्री शहीद स्मृति सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष कर्ण बहादुर बिष्ट लगायतले वृक्षारोपण गरेका थिए।

ताजा समाचार