राष्ट्रिय धान दिवसका अवसरमा शुक्लाफाँटाका पाँच जना उत्कृष्ट किसान पुरुस्कृत


राजेन्द्रप्रसाद पनेरु / कञ्चनपुर: शुक्लाफाँटा नगरपालिकाका उत्कृष्ट पाँच जना किसानलाई २१ औं राष्ट्रिय धान दिवसका अवसरमा आज पुरुस्कृत गरिएको छ । ‘जलवायूमैत्री कृषि, धान उत्पादनमा बृद्धि’ भन्ने नारा सहित मनाईएको धान दिवसका अवसरमा सम्मान पत्र र नगद रकम सहित दोसल्ला ओढाएर किसानलाई पुरुस्कृत गरिएको हो । व्यवसायीक तरकारी खेतीमा संलग्न किसान जानकारी डगौरा, मुस्कान डगौरा, राम सिंह डगौरा, लहरे तरकारी बालीमा सिद्धराज सार्की र व्यवसायीक केरा खेतीमा संलग्न मोहन रानालाई पुरुस्कृत गरिएको छ । पुरुस्कृत हुने पाँचै जना किसानलाई जनही रु पाँच हजारका दरले नगद पुरुस्कार प्रदान गरिएको छ । धान दिवस कार्यक्रमका सभापति नगरपालिकाको आर्थिक विकास समितिका संयोजक भूमा चन्द, प्रमुख अतिथि कल्पना पन्त, अतिथि नगर प्रवक्ता लाल बहादुर ऐर, वडा नं १२ का वडा अध्यक्ष नवल सिंह राना, लगायतले किसानलाई नगद रकम, सम्मान पत्र र दोसल्ला ओढाएर पुरुस्कृत गर्नु भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि पन्तले किसानलाई यान्त्रीकरणको प्रयोगमा जोड दिई धान उत्पादन बढाउनु पर्ने बताउनु भयो । “बाह्य क्षेत्रबाट आयात हुने धान प्रतिस्थापन गर्न उत्पादनमा जोड दिनु पर्छ” उहाँले भन्नुभयो, “परम्परागत खेती प्रणालीमा सुधार ल्याउन आवश्यक छ, त्यसका लागि नगरपालिकाका तर्फबाट मेसिन, यन्त्र, औजार, बीउविजन र मलखादमा अनुदान दिईदै आएको छ, अर्को आब देखि किसानको माग अनुसार थप गर्छौ ।” नगर प्रवक्ता लाल बहादुर ऐरले प्रविधिलाई आत्मसात गरी धान खेती गरे उत्पादन बढने निश्चित रहेको कुरामा जोड दिदै उहाँले लागत खर्च घटने बताउनु भयो । वडा अध्यक्ष नवल सिंह रानाले आधुनिक तरिकाले धान लगायतको खेती गर्नका लागि सिचाई आवश्यक रहेको बताउनु भयो । “सिचाईको व्यवस्था गर्न किसानको खेत खेत सम्म विद्युत सेवा पुरयाउनका लागि लागेका छौं” उहाँले भन्नुभयो, “विद्युतबाट सञ्चालन हुने स्यालो टयुवेल किसानलाई अनुदानमा उपलव्ध गराउने कार्यका लागि आगामी आबमा बजेटको व्यवस्था गर्छौ ।”

कृषक उद्यमी चुडामणी जोशीले प्रविधिका बारेमा जानकारी लिएर मात्रै खेतीका लागि प्रयोग गर्नु पर्ने बताउनु भयो । उहाँले जग्गाको खण्डीकरण गर्ने कार्य रोकेर चक्लाबन्दीमा व्यवसायीक खेती गर्ने किसानलाई प्रोत्साहीत गर्नु पर्ने बताउनु भयो । नगरपालिकाको कृषि विकास शाखाका प्रमुख करन सिंह बुढाऐरले व्यवसायीक खेती गर्ने कृषक, सहकारी, कृषि फार्म सञ्चालकलाई अनुदानमा अन्नबालीका बीउ, तरकारीको बीउ, मलखाद, सिचाईका लागि स्यालोटयुवेल, कृषि औजार तथा यन्त्र उपकरण उपलव्ध गराउने कार्य संगै प्राविधि सल्लाह दिने कार्य हुने आएको बताउनु भयो । किसानको मागका आधारमा आवश्क तालिमको पनि व्यवस्था गरिदै आएको उहाँको भनाई रहेको छ । कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्र्तगत गठित समितिका सचिव भट्टले आधुनिक तरिकाले खेत ीगर्ने किसानलाई अनुदानका कार्यक्रममा समेटने बाचा गर्नु भएको छ । कार्यक्रममा किसानलाई मेसिनमा धान रोप्ने तरिका, बीउ राख्ने बारे कृषि प्राविधिकले किसानलाई खेतमै पुगेर जानकारी दिएका थिए ।


Loading Viewer...

ताजा समाचार

spot_img