मुक्त हलिया पुनः स्थापनका लागि नीति निर्माण गर्न प्रतिवद्ध

राजेन्द्रप्रसाद पनेरु /शुक्लाफाँटा  : मुक्त हलिया पुनः स्थापनाका लागि शुक्लाफाँटा नगरपालिकाले नीति निर्माण गर्ने भएको छ ।आज इएलसीए, लुथरन विश्व फेडरेसन(एलडब्लुएफ)को आर्थिक सहयोगमा राष्ट्रिय मुक्त हलिया समाज महासंघ र राष्ट्रिय हलिया मुक्ति समाज कञ्चनपुरले संयुक्त रुपमा आयोजना गरेको मुक्त हलिया पुनः स्थापनाका लागि नीति तर्जुमा सम्बन्धी छलफल कार्यक्रमका सहभागी जनप्रतिनिधिहरु मुक्त हलिया पुनः स्थापनाका लागि आवश्यक कार्यविधि, निर्देशिका लगायत निर्माण गर्न सहमत भएका हुन । कार्यक्रममा बोल्दै नगर प्रमुख रण बहादुर महराले मुक्त हलिया पुनः स्थापनाका लागि खरिद गरिएको जग्गाको छानविन हुनु पर्ने बताउनु भयो ।

“आवासनै निर्माण हुन नसक्ने जग्गा कुन विधि र प्रक्रियाबाट खरिद गरियो” उहाँले भन्नुभयो, “यसको पहिला छानविन गरौं, त्यस पछि मुक्त हलिया पुनः स्थापनाका लागि आवश्यक पर्ने नीति निर्माण तर्फ लागौं ।” पुनः स्थापनका लागि कस्तो नीति आवश्यक पर्छ आवश्यकताका आधारमा नीति निर्माण गर्न प्रतिवद्ध रहेको उल्लेख गर्नु हुदै उहाँले पुनः स्थापनका लागि खरिद गरिएको जग्गाको व्यवस्थापन गर्ने तर्फ लाग्नु पर्ने बताउनु भयो । नगर उप प्रमुख कल्पना पन्तले आवासनै नबन्ने किसिमले किन जग्गा खरिद गरियो त्यसको छानविन गरी टुङ्गोमा पुरयाएर मात्रै नीति निर्माण तर्फ लाग्नु पर्ने बताउनु भयो । “आवास बन्ने वातावरण भए नगरपालिकाले आवश्यक बजेट विनियोजन गर्दथ्यो” उहाँले भन्नुभयो, “प्राविधिक त्रुटि हुदा जग्गा खरिदको रकम खेर गएको छ ।”

गत आवमै आवास निर्माण कार्य शुरु गर्न रु ५० लाख बजेट विनियोजन गरेको जानकारी दिनु हुदै उहाँले सो जग्गामा आवास बन्न नसक्ने प्राविधिकले सल्लाह दिएपछि कार्य रोकिएको बताउनु भयो । वडा नं ११ का वडा अध्यक्ष शेर बहादुर साउदले मुक्त हलिया पुनः स्थापनका लागि कार्यविधि बनाउदै गरौं, जग्गा खरिद कार्यको छानविन पनि अगाडी बढाउदै लैजानु पर्ने बताउनु भयो । अर्का वडा नं ९ का वडा अध्यक्ष रमेश बहादुर ऐरले मुक्त हलियाको पुनः स्थापनाका लागि कार्यविधि बनाएर कार्य अगाडी बढाउनका लागि आगामी कार्यपालिमा प्रस्ताव पेश गरिने बताउनु भयो । पच्चिस जना मुक्त हलियाको सुरक्षित आवास निर्माणका लागि वडा नं १ वन्साहमा चार वर्ष अघि नगरपालिकाले जग्गा खरिद गरेको थियो ।
प्रत्येक परिवारलाई सात धुर जग्गाको जग्गाधनी प्रमाण पत्र(लालपूर्जा) पनि उपलव्ध गराईएको छ । खरिद गरिएको जग्गाको मोहडा(अगाडीको भाग) साँधुरो हुदा आवास निर्माण हुन सकेको छैन ।

राष्ट्रिय हलिया मुक्ति समाज कञ्चनपुरका अध्यक्ष शिवी लुहारले प्राविधिक त्रुटीका कारण मोहडा साधुँरो राखेर कित्ताकाट गर्दा समस्या आएको बताउनु भयो । “तत्कालीन समयमा समस्या समाधानका लागि पहल गर्दा जनप्रतिनिधिको पदावधि सकियो, त्यस पछि पुनः स्थापनको कार्यले गति लिन सकेन” उहाँले भन्नुभयो, “ प्रकृयामा जानु परयो, प्रकृयामा गए मात्रै समस्याको समाधान हुन्छ ।” मुक्त हलिया पुनः स्थापनका लागि संस्था संग त्यस बेला कुनै छलफल भने नभएको उहाँको दावी छ । राष्ट्रिय मुक्त हलिया समाज महासंघका कार्यकारी निर्देशक हरि सिंह बोहराले मुक्त हलिया पुनः स्थापनका लागि कार्यविधि पारित गर्नु पर्ने र नगरपालिकाको आगामी नीति तथा कार्यक्रम र बजेटमा मुक्त हलियाका सवाललाई सम्बोधन हुनु पर्ने बताउनु भयो । उहाँले सुदूरपश्चि र कर्णाली प्रदेशमा रहेका मुक्त हलिया पुनः स्थापन, जग्गा खरिद, घर निर्माण, घर मर्मत, परिचय पत्र पाए नपाएको बारे कार्यक्रममा जानकारी दिनु भएको छ । मुक्त हलियाका पक्षमा स्थानिय सरकारले ऐन, नियम, निर्देशिका र कार्यविधि निर्माण गर्न सक्ने संवैधानिक र कानुनी आधारहरु बारे उहाँले कार्यक्रममा सहभागीहरुलाई सजग गराउनु भएको छ ।

ताजा समाचार