प्रकास भट्ट / कञ्चनपुर – कञ्चनपुरको कृष्णपुर नगरपालिकामा महिला उद्घोषण तालिम समापन तथा प्रमाण पत्र वितरण र छोटो अवधिको पुनर्ताजगी घघरीया तथा अंगिया सम्बन्धी सीप विकास तालिम सम्पन्न गरिएको छ।
कार्यक्रमका सभाध्यक्ष एवम् नगर उपप्रमुख द्रोपदी रानाले महिलाहरूको नीति निर्माण तहमा अधिकार सुनिश्चित हुनु जरुरी भएको कुरा औँल्याउदै तालिम प्रभावकारी भएको बताइन्। घघरीया तथा अंगिया सम्बन्धी सीप विकास तालिमले रानाथारू पहिरनलाई बजारीकरण गर्न सहयोग गर्ने विश्वास आफूले लिएको उनले बताईन्।

साथै महिलाहरूको नेतृत्व विकास गर्ने उद्देश्यले आयोजित तालिममा उद्घोषण र भाषण कलाको बारेमा सैद्धान्तिक तथा प्रयोगात्मक प्रशिक्षण प्रदान गरिएको उनको भनाई रहेको छ। त्यसैगरी कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवम् नगर प्रमुख हेमराज ओझाले महिलाको क्षमता अभिवृद्धिका लागि उद्घोषण कलाले सघाउने विश्वास लिएको बताए। यो तालिमपश्चात कार्यक्रमहरूमा महिलाको सहभागिता र नेतृत्व बढाउन सहयोग पुग्ने उनको भनाई रहेको छ। साथै घघरीया तथा अंगिया सम्बन्धी सिप विकास तालिमले स्थानीयलाई व्यवसायतर्फ लैजाने उनको भनाई रहेको छ। महिला उद्घोषण तालिममा सुदूरपश्चिमका चर्चित उद्घोषक प्रेरणा पाण्डेय र केपी कलौनीले प्रशिक्षण गराएका थिए।

तालिमकी प्रशिक्षक प्रेरणा पाण्डेले बोल्ने कलासँगै व्यक्तित्व र नेतृत्व क्षमताको विकास भए मात्रै महिलाले आफ्नो अधिकार खोज्न सक्ने बताइन्। तालिमका सहभागीहरूले तालिमले आत्मविश्वास बढेको बताए। तालिममा सहभागि सम्पूर्णलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिएको छ। बिहिबार सम्पन्न उक्त कार्यक्रममा कृष्णपुरका नगरप्रमुख हेमराज ओझाको प्रमुख आतिथ्य रहेको थियो भने नगर उपप्रमुख द्रोपदी रानाको सभापतित्व रहेको थियो। महिला उद्घोषण तालिममा नगरपालिकाभित्रका महिलाहरूको सहभागिता रहेको थियो भने घघरीया तथा अंगिया सम्बन्धी सीप विकास तालिममा १५ जनाको सहभागिता रहेको थियो।







