कञ्चनपुर : पुर्वको मेचीदेखि शुरु भएको पैदल यात्रा अभियान पश्चिम महाकाली पुगेर समापन गरिएकोछ ।बिहीबार एक कार्यक्रमका विच मेची–महाकाली पैदल यात्रा समापन गरिएको हो । गत २३ चैत्रमा झापाका पाँच युवाहरुले ‘विश्वको छानोबाट संसारलाई सन्देश, पर्यावरण नै नरहे, रहने छैन, कुनैपनि देश’ मुल नारा लिएर पर्यावरण संरक्षणका लागि पैदल यात्रा जागरण अभियान शुरु गरिएको थियो । झापाका दिनेश भण्डारी, उमेश कुमार राई, सुभास सुवेदी, पदम भण्डारी, प्रकास चौलागाईले मेची नदीदेखि महाकाली नदीसम्म पैदल यात्रा गरेका थिए । ४९औँ दिनमा पुगेर कञ्चनपुरको सीमावर्ती महाकाली नदी दोधाराचाँदनी नगरपालिका पुगेर समापन गरिएको छ ।

पैदल यात्राका संयोजक सुबास सुवेदीले पछिल्ला बर्षहरुमा विकसित राष्ट्रहरुले अत्यधिक ग्रिन ग्याँस उत्र्सजन गर्ने कम्पनीका कारण जलवायु परिर्वतनले नेपालमा समेत प्रभाव परेको बताए । सो न्यूनिकरणका लागि सिङ्गो नेपालले नै अन्र्तराष्ट्रिय समुदायसंग समन्वय गरेर न्यूनिकरण तर्फ पहल गर्न दवाव दिने उदेश्यले पुर्वमेचीदेखि पश्चिम महाकालीसम्म पैदल यात्रा गरिएको बताए । ‘पछिल्ला बर्षहरुमा उच्चतम तापक्रमले जलवायुमा भारी असर परिरहेको छ, ‘उनले भने, ‘त्यसको प्रभाव प्रत्यक्ष मानिसमा समेत परेको छ ।’ कार्बन स्टक गर्ने नेपाल जस्ता राष्ट्रहरुलाई दिने बार्षिक अनुदान समेत कटौती गरेर झन अन्यायमा पारेको बताए ।

यात्राकोे समापन कार्यक्रममा दोधाराचाँदी नगरका मेयर किशोर कुमार लिम्बुले पछिल्ला बर्षहरुमा नेपाल लगायतका मुलुकले भोक्नुपर्ने समस्या रहेको बताए । ‘यसरी युवाहरुले जलवायु परिर्वतनका विषयमा चासो राखेर सरोकारवाला घचघच्याउने कार्यबाट समेत समग्र मुलुकको ध्यानाकर्षण हुने छ, ‘मेयर लिम्बुले भने, ‘नागरिक स्तरबाटै भएको पहल कदमीले राज्य जिम्मेबार बन्नेछ ।’ विश्वमा औद्योगिकरण गर्ने होडबाजीले जलवायुमा परिरहेको असरको प्रभाव प्रत्यक्ष नेपालमा समेत परिरहेको भन्दै मेयर लिम्बुले यस तर्फ सरकार गम्भिर हुनुपर्ने बताए ।







