कञ्चनपुर : कञ्चनपुरको श्रीलंका टोलमा बाढीमा आधारित कृत्रिम नमुना अभ्यास गरिएको छ । वर्षातको समयमा बाढीबाट कसरी धनजनको सुरक्षा गर्ने भन्ने उदेश्यले स्थानियहरुको सहभागितामा कृत्रिम नमुना अभ्यास गरिएको हो । निड्स नेपाल र अक्सफामको साझेदारीमा सञ्चालित स्कोप आर थ्री दोस्रो चरण परियोजनाको आयोजनामा सोमबार भिमदत्त नगरपालीका वडा नं १० को श्रीलंका टोलमा बाढीमा आधारित कृत्रिम नमुना अभ्यास गरिएको परियोजनाका सामाजिक परिचालक अम्मर जागरीले जानकारी दिनु भएको छ ।

विपद व्यवस्थापन चक्र अनुसार विपद पूर्व, विपदको समय र विपद पश्चात तीन वटा अवस्था मध्ये विपद पूर्व अवस्थामा बाढी प्रभावित क्षेत्रहरूमा बाढी आउनु पूर्व कसरी प्रतिकार्य गर्ने भन्ने नमुना अभ्यास गरिराखेको कृत्रिम नमुना अभ्यासमा परियोजनाका सहजकर्ता जनक लेखकले बताउनु भयो।
यस कृतिम नमूना अभ्यासले विपद्को समयमा प्रभावकारी उद्धार र राहतका कार्यक्रमलाई व्यवस्थित कसरी बनाउने भन्ने विषयमा जानकारी पाइएको श्रीलंका सामुदायीक विपद् व्यवस्थापन समितिकी सचिब सावित्री विश्वकर्माको भनाइ रहेको छ ।

कृत्रिम नमुना अभ्यास कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी, सामुदायिक विपद् व्यवस्थापन समितिका पदाधिकारी र सदस्य तथा समुदायका नागरिकको सहभागिता रहेको थियो । सहभागीहरूले विपद्को समयमा आआफ्नो क्षेत्रबाट सक्रिय भएर विपद् व्यवस्थापनका कार्यमा लाग्ने प्रतिबद्धता जनाउनु भएको छ ।
