महेन्द्रनगर : कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ४ स्थित पुरानो वसपार्क क्षेत्रमा अतिक्रमण गरी बनाइएका संरचनामाथि डोजर चलाइएको छ । करिब १० विघा जमिनमा अतिक्रमण गरेर निर्माण गरिएका निजी संरचना खाली गराउन थालिएको हो । शनिवार देखी नगरपालिकाले अतिक्रमित जग्गा तथा अवैध संरचनामाथि डोजर चलाउन थालेको हो । अवैध संरचना तथा अतिक्रमित जग्गा खाली गर्न ३५ दिने सूचना जारी गरिएपनि अटेरी गरिएको पाइएकाले नगरप्रुमख पदम बोगटीको निर्देशनमा त्यस्ता जग्गा खाली गराउन डोजर चलाउन थालिएको भीमदत्त नगरपालिकाका नगर प्रवक्ता पदमराज अवस्थीले बताए ।

‘हामीले अवैध तथा अतिक्रमित जग्गा खाली गर्न वा प्रमाण भए कार्यालयमा पेश गर्न ३५ दिनको सूचना जारी गरेका थियौँ ।’ उनले भने ‘सो सूचनालाई अटेरी गरेको पाइएकाले नगरप्रमुखज्यूको निर्देशनमा भीमदत्त नगरपालिका–४ स्थित पुरानो बसपार्क क्षेत्रबाट अतिक्रमिति जग्गा खाली गर्न डोजर चलाइएको छ ।’ उनले अगाडी भने ‘ अहिले सरकारी जग्गा अतिक्रमण गरी उक्त क्षेत्रमा अवैधरुपले बनाइएका पिल्लर हटाउन सुरु गरिएको छ, र निर्माण गरिएका तथा बसोवास गरिरहेका घर टहराका लागि अझ (आइतवार देखी लागु हुने गरी) सात दिनको सूचना जारी गर्ने र सात दिनसम्मपनि खाली नगरिएमा ती त्यस्ता घर टहरामा पनि डोजर लगाएर भत्काइने छ ।’ सो क्षेत्रमा तत्कालिन महेन्द्रनगर नगर विकास समितिका विभिन्न अध्यक्षहरुले फर्जी लिजमा जग्गा वितरण गरेका थिए । यसअघि नगरपालिकाकाले जिल्ला मालपोत कार्यालय, राजश्व र यातायात कार्यालय अगाडी रहेका अवैध संरचना समेत भत्काएको थियो ।

