कञ्चनपुर:अखिल नेपाल शिक्षक संगठनले कञ्चनपुरमा राजनीतिक आधारमा जिल्लाका पालिका सरकार शिक्षा शाखाले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, कर्मचारीको सरुवा गरिरहेको दावि गरेको छ ।

अखिल नेपाल शिक्षक सगठन कञ्चनपुरले एक प्रेस विज्ञप्ती जारी गर्दै पालिका जनप्रतिनिधी र शिक्षा शाखाका कर्मचारी मिलेर सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, कर्मचारीको सरुवा गरिरहेको दावि गरेको हो । दरबन्दी मिलानका नाममा आस्थाई केन्द्रबिन्दुमा राखेर बालविकास शिक्षक, विद्यालय कर्मचारी सहितका शिक्षकहरुलाई पूर्वाग्रही भएर सरुवा गर्ने गराउने गतिबिधीले समग्र जिल्लाको शैक्षिक वातावरण प्रभाव पार्ने काम भईरहेको जनाएको छ ।

विद्यमान ऐन, कानुन विधी प्रकृया भन्दा पनि राजनीतिक आस्थाका आधारमा सामुदायिक विद्यालयका शिक्षक कर्मचारी सरुवा गर्ने कार्यबाट शिक्षामा सुधार नभई विकृती फैलिने चिन्ता व्यक्त गरेको छ । अखिल नेपाल शिक्षक संगठनले कञ्चनपुरका संयोजक पुष्पमणी जोशीले हस्ताक्षर गरेको विज्ञप्तीमा यस्ता विभेदपूर्ण कामकाज रोक्न आग्रह गर्दै नरोकिए आन्दोलनको चेतावनी दिएका छन ।

