ओडार देखी घर सम्म

कञ्चनपुर – लोपउन्मुख तथा फिरन्ते जीवनशैली भएका राउटेहरू नेपालका विभिन्न ठाउँहरूमा बसोबास गर्छन्। उनीहरू कुनै एक निश्चित स्थानमा बस्दैनन्, छोटो समयमै बसाइ सरिरहने राउटेहरूको जीवनशैली रहेको पाइन्छ। तर अहिलेको समयमा उनीहरू ओडारदेखि पक्की घरसम्म पुगिसकेका छन्।

डडेलधुरा जिल्लाको परशुराम नगरपालिका -०४ रज्यौडामा राउटे समुदायको बसोबास रहेको छ। उक्त स्थानमा ४५ देखि ५० वटा राउटे परिवारको बसोबास रहेको छ । विगतमा दार्चुला जिल्लाको ओडारहरूमा जीवन बिताईरहेको बेला उनीहरूलाई नेपाल सरकारले १९.८ रोपनी जमिन दिएपछि बाजेकै पालामा उनीहरू रज्यौडामा आएको प्रेम सिहँ राउत (राउटे) बताउँछन्।

उनका अनुसार परशुराम नगरपालिका -०४ रज्यौडामा नेपाल सरकारले प्रति परिवार १९.८ रोपनी जमिन दिने भएपछि उनीहरू उक्त ठाउँमा आएका हुन्। उक्त ठाउँका राउटेहरूका आफन्त भारतको खिलद्वारी, चक्रपुर तथा धार्चुलामा बसोबास गर्छन्। तसर्थ त्यहाँका राउटे समुदायको भारत आवतजावत चलिरहने स्थानीहरूको भनाई रहेको छ।राउटे समुदायमा जातको असमानता नरहेको स्थानीयहरू बताउँछन्। जङ्गली अवस्थामा जङ्गली जनावर मारेर खाने, कन्दमूल, तरुल इत्यादि खाने भएतापनि अहिले त्यस्तो अवस्था नरहेको प्रेम सिहँ राउत (राउटे) बताउँछन्।

उक्त ठाउँको राउटे समुदायमा चन्द, पाल, राउत र राउटे जाति बसोबास गर्ने गरेको उनी बताउँछन्। राउटेका थरहरु विकसित समाजका ठकुरीहरूका थरसँग हु–बहु मिल्दो जुल्दो पाइन्छ ।त्यस ठाउँका राउटे समुदायको कुलदेवताको नाम ध्वजकेदार रहेको प्रेम सिहँ राउत (राउटे) बताउँछन्। छोराछोरी विद्यालय जाने गरेको भएतापनि उनीहरूको गाउँमा १० कक्षा भन्दा बढी कोही पढेको नरहेको उनी बताउँछन्।

विगतका दिनहरूमा राउटे काठका विभिन्न सामान उत्पादन गरेर उत्पादित सामग्री लिएर नजिकको गाउँहरूमा पस्ने र ती सामानसँग अन्नबाली साटेर जीवन यापन गर्ने गरेको वडा नम्बर -०४ का वडा अध्यक्ष विश्राम बोहरा बताउँछन्। तर अहिलेको अवस्थामा सरकारले प्रदान गर्ने भत्ताको आस र अन्य व्यक्ति तथा संस्थाको सहयोगको कारण उनीहरू परर्निभर बन्दै गएका उनी बताउँछन्। तर वडामा उनीहरूको स्वास्थ्य ठिक राख्न पोषण कार्यक्रम, कुखुरा वितरण, उन्नत जातका तरकारीको बिउ-बिजन वितरण लगायतका विभिन्न कार्यक्रमहरू भने निरन्तर सञ्चालन भईरहेका वडा अध्यक्ष बोहराको भनाई रहेको छ।

सदस्यको मृत्यु भएमा तत्काल घर छाड्ने चलन

त्यस ठाउँमा बसोबास गर्ने राउटे समुदायको परिवारमा कुनै सदस्यको मृत्यु भएमा घर छाडेर अन्तै जाने चलन रहेको पाइन्छ। परिवारको कुनै सदस्यको मृत्यु भए तत्काल त्यही ठाउँमा गाडेर सबै जना रुँदैकराउँदै अर्को बासको खोजीमा जाने हुँदा एकै ठाउँमा नबस्ने राउटे समुदायका बासिन्दा प्रेम सिहँ राउत (राउटे) बताउँछन्।

उनी भन्छन्, ‘हाम्रो समुदायमा कसैको मृत्यु हुनेबित्तिकै त्यस ठाउँलाई सधैँका लागि अशुभ ठानेर नयाँ ठाउँको खोजीमा हिँड्ने गर्छौँ’। तर अहिलेको समयमा त्यो चलन भने कम भइसकेको राउटे समुदायका बासिन्दा प्रेम सिहँ राउत (राउटे) बताउँछन्।

ताजा समाचार