शुक्लाफाँटामा दोदा जलाधार क्षेत्र बहुसरोकार मञ्चको पहिलो बैठक सम्पन्न

शुक्लाफाँटा: शुक्लाफाँटा नगरपालिकामा दोदा जलाधार क्षेत्र बहुसरोकार मञ्चको पहिलो बैठक सम्पन्न भएको छ । मञ्चका अध्यक्ष शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख रण बहादुर महराको अध्यक्षतामा शुक्रवार बैठक बसेको हो । बैठकमा मञ्चका उपाध्यक्ष परशुराम नगरपालिकाका उपप्रमुख विमला बोहरा,सचिव लालझाडी गाउँपालिका अध्यक्ष निर्मल राना, कोषाध्यक्ष चुरे गाउँपालिका उपाध्यक्ष धना देवी थापामगर, मञ्चका सदस्य पूनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्मा, चुरे गाउँपालिका अध्यक्ष चक्र बहादुर बोगटी, विभिन्न संघसंस्थाका पदाधिकारी लगायतको सहभागिता रहेको थियो । बैठकले चुरे तथा तराईमा फैलिएको दोदा जलाधार क्षेत्रमा विपद् जोखिम न्यूनीकरणलाई उच्च प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता गरिएको छ । बैठकले मञ्चको कार्यसञ्चालन मार्गदर्शन संसोधन सहित स्वीकृत पनि गरेको छ ।

दोदा जलाधार क्षेत्रका मुद्धाहरु,अवसर तथा चुनौतीहरुको अध्ययन गर्ने, जलाधार व्यवस्थापनका योजनाहरु,भू उपयोग नीतिहरु र जलवायु अनुकूलन रणनीतिहरु विकास गर्ने,उत्थानशिलता अभिवृद्धि गर्न दीगो र नवप्रवर्तनीय अवधारणाहरु र प्रविधिहरुको प्रयोगलाई प्रोत्साहन लगायतका कार्य मञ्चको काम कर्तव्य तथा अधिकारभित्र समेटिएका छन् । मञ्चले सामाजिक,आर्थिक तथ्यांक,भूस्थानिक तथ्यांक र वातावरणीय तथ्यांकहरुका साथै सहकार्यगत अन्य क्रियाकलापहरु र पहलहरुको सफल कार्यान्वयनको लागि आवश्यक सान्दर्भिक तथ्यांक,सुचना र स्रोतहरुमा पहुँच प्रदान गर्ने छ ।
बैठकमा बोल्दै सुदुरपश्चिम प्रदेशका पूर्व सांसद महेशदत्त जोशीले विपद् सगै क्षति न्यूनीकरण गर्न सबैको साथ,सहयोग हुनुपर्ने बताए ।

उनले राम्रो नीति निर्मण गरेर प्रदेश र संघीय सांसदहरुलाई सहभागि गराउनुपर्ने बताए । दोदा जलाधार क्षेत्र बहुसरोकार मञ्चलाई नमुनको रुपमा अघि बढाउन उनले शुभकामना समेत दिए । मञ्चका सदस्य पूनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माले मञ्चले प्रभावकारी रुपमा काम गर्नका लागि सबैको साथ,सहयोग आवश्यक रहेको बताए । निड्स नेपालका संस्थापक भवराज रेग्मीले सबैले आवश्यक समन्वय गरेर अघि बढ्नुपर्ने बताए । स्थानीय तहहरुले विपद्लाई मुख्य प्राथमिकतामा राखेर काम गर्नुपर्ने उनले बताए । विकासमा साझेदारी गरेर अघि बढ्न आफुहरु तत्पर रहेको उनको भनाई रहेको थियो ।

बैठकको समापनमा बोल्दै शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुुख रण बहादुर महराले जलवायु परिवर्तन,विपद्का समस्याहरुलाई सबै मिलेर हल गर्नुपर्ने बताए । सुदुरपश्चिमका दश वटै स्थानीय तहमा भएका समस्याहरु पहिचान गरी त्यसको समाधानका लागि स्थानीय तह संगै प्रदेश र संघीय सरकार,विभिन्न गैरसरकारी संघसंस्थाहरुले एकताबद्ध भएर अघि बढ्नुपर्ने उनको भनाई रहेको थियो । दोदा जलाधार क्षेत्र बहुसरोकार मञ्चलाई सबैको मञ्च बनाउने गरी आफुहरु अघि बढिरहेको उनले बताए । दोदा जलाधारमा विपद् जोखिम न्यूनीकरण तथा जलवायु परिवर्तन, दीगो विकास तथा उत्थानशीलतासँग सम्बन्धी काम एकीकृत ढङ्गबाट गरिने छ भने दोदा जलाधार क्षेत्रमा प्राकृतिक स्रोत र सामाजिक तथा आर्थिक तथ्यांकको नक्सांकन, जलवायु र विपद उत्थानशीलतामा रणनीतिक काम समेत गरिने छ ।

दोदा जलाधार क्षेत्रमा सञ्चालन गरिने विपद् जोखिम न्यूनीकरण र जलवायु परिवर्तनसम्बन्धी क्रियाकलापमा गैरसरकारी संस्था मर्सी कोप्रस, निड्स नेपाल लगायत संस्थाले स्थानीय तहहरुसँग सहकार्य गरेर अघि बढिरहेका छन् । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका, लालझाडी गाउँपालिका, बेलौरी नगरपालिका, पुर्नवास नगरपालिका, कृष्णपुर नगरपालिका, कैलालीको चुरे गाउँपालिका र गोदावरी नगरपालिका, डोटीको जोरायल गाउँपालिका, डडेल्धुराको आलीताल गाउँपालिका र परशुराम नगरपालिका दोदा जलाधार क्षेत्र बहुसरोकार मञ्चमा आवद्ध छन् । मञ्चका उपाध्यक्ष परशुराम नगरपालिकाका उपप्रमुख विमला बोहराले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन सचिव लालझाडी गाउँपालिका अध्यक्ष निर्मल रानाले गरेका थिए । मञ्चको अर्को बैठक जेठको अन्तिम साता कैलालीको चुरेमा बस्ने छ ।

ताजा समाचार