बाल संगठनको जमिनमा बस्दै आएका स्थानीयले भने, ‘सबैतिरको अतिक्रमण गरेको जमिन खाली गरेर हामी तयार छौैँ’

कञ्चनपुर: नेपाल बाल संगठन (बाल मन्दिर)को जमिनमा बस्दै आएका स्थानीयले आफुहरु अतिक्र्मणकारी नभएको बताएका छन । बाल संगठन कञ्चनपुरले आफ्नो जमिन खाली गराउनका लागि प्रशासनसंग आग्रह गरेर १४ चैत्रमा सुचना जारी गरेपछि (बाल मन्दिर)को जमिनमा बस्दै आएका स्थानीयले आफुहरु अतिक्र्मणकारी नभएको बताएका हुन । बाल मन्दिरको जमिनका बस्दै आएका खोक्रा छाप्रा संघर्ष समितिले आइतबार महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै आफुहरु अतिक्रमणकारी नभएको बताएका छन । खोक्रा छाप्रा संघर्ष समितिका संयोजक डम्बर बहादुर खडकाले बाल संगठनले एक्कासी छापामारशैलीमा सुचना जारी गरेर आफुहरुलाई अतिक्रमणकारीको संज्ञा दिएकोमा आपत्ति प्रकट गरे । संयोजक खडकाले आफुहरु ०५४ सालदेखि सम्झौता गरेर नै उक्त जमिनमा बस्दै आएको र ०६४ सालदेखि सम्झौता नगरेपनि आफुहरुले भाडा तिर्दै आएको बताए ।

‘हामी बाल संगठनको जमिनमा खोजी खोजी आएका होईनौँ, ‘उनले भने, ‘बाल संगठनले नै हामीलाई जमिन दिएर भाडामा बसालेको हो, अहिले अतिक्रमणकारी भनिरहेका छन, तर हामी होईनौँ ।’ उतिबेलै बाल संगठनले जमिन लिजमा लिएर आफुहरु बसेको बताउँदै उनले आफुहरुमाथि घात भएको बताए । ‘हामीसंग सम्झौता नगर्ने तर सार्कदेखि अपि फर्निचरलाई भने भाडामा लिएको छ, ‘उनले भने, ‘निमुखामाथि अन्याय ठुलामाथि न्याय भएको छ ।’ उनले वास्तविक सरकारी, सार्वजनिक अतिक्रमण भएको जमिन खाली गराउनुपर्ने बताए । ‘अन्यतिर अतिक्रमण भएको जमिन हटाएर हामी स्वत हट्छौँ, ‘उनले भने, ‘पहिल्यै हामीमाथि अन्याय नहोस ।’ अर्का स्थानीय जित बहादुर बमले बाल संगठनले आफुहरुलाई हटाएर त्यहाँ सटर बनाउने योजना भएकाले अन्याय भएको बताए । ‘पैशा हुनेलाई फेरीपनि सटर दिने तयारी छ, ‘उनले भने, ‘अहिले हामीमाथि अन्याय भईरहेको छ ।’ बाल संगठनकै जमिन २५ बर्षदेखि बस्दै आएका अर्जुन कडरियाले बाल संगठनले नै आउ बस भन्दै बसालेर अहिले आएर अन्याय गरिरहेको बताए ।

‘त्यही बाल सगठनको जमिनमा बनेका संरचना भाडामा लिईएका छन, ‘उनले भने, ‘हामीमाथि मात्रै किन एक्सन भयो ।’ कञ्चनपुरका राजनीतिक दलहरुले समेत बाल संगठनको जमिन लिजमा लिएर अहिले जंगीशासनमा उठान खोजेको भन्दै शुरुमा नगरविकास समितिको अतिक्रमणकारीमाथि एक्सन हुनुपर्नेमा जोडदिएका छन । नेपाली काँग्रेस भीमदत्त नगरका सभापति अच्युतराज कलौनीले सरकारले वास्तविक अतिक्रमण गरेको जमिन खटाउन एक्सनमा जानुपर्ने बताए । ‘यही हाम्रै भीमदत्त नगरमा पनि थुप्रै सरकारी जमिन अतिक्रमण भएको छ, ‘उनले भने, ‘पहिले नगर विकास समितिको जमिनमा रहेका अवैधानिक सरचना हटाउनुपर्छ, बाल मन्दिरमा रहेका सबै संरचना हटाएपछि मात्रै खोका छाप्राको पनि हटाउनुपर्छ ।’ अहिले गरिखाने मजदुर हटाएर आफु निकटलाई सटर बनाएर दिए त्यो मान्य नहुने बताउँदै उनले विकल्प र समय दिनुपर्ने बताए । नेकपा एमाले जिल्ला सदस्य रामचन्द्र रेग्मीले अतिक्रमण हटाउने नाममा निमुखामाथि प्रहार गर्न नहुने भन्दै उनले बाल संगठनले नै बस्न दिएका स्थानीयमाथि अन्याय गर्न नहुने बताए । ‘पैशा हुने अपि फर्निचर, सार्क स्कुलाई २०÷२० बर्षका लागि भाडामा दिने अनि गरिखाने गरिब मजदुरमाथि अन्याय गर्ने यो हाम्रो पाटीलाई स्वीकार्य हुँदैन, ‘उनले भने, ‘यस विषयमा सबै निकाय जिम्मेबार हुनुपर्छ ।’

नेकपा माओवादीका नेता पदमराज जोशीले बाल संगठनले नै दिएको जमिनमा बस्दा अतिक्रमणकारीको बिल्ला भिराउने काम निन्दनिय भएको बताए । नेता जोशीले निमुखा जनतामाथि अन्याय गर्न नहुने र वास्तविक सरकारी जमिन अतिक्रमणकारीमाथि डण्डा बजाउनुपर्ने बताए । राष्ट्रिय जनमोर्चा कञ्चनपुरका सचिव लाल बहादुर कुँवरले वास्तविक सरकारी जमिन अतिक्रमणकारीमाथि एक्सन गर्नुपर्नेमा सम्झौता अनुरुप सरकारी निकायले नै बसालेका जनतालाई उचित व्यवस्थापन गरेर अघि बढ्नुपर्नेमा जोडदिए । नेपाल बाल संगठनका अध्यक्ष राम बहादुर बुढाले उक्त जमिन बाल संगठनको योजना अनुरुप बाल उद्यान बनाउनका लागि खाली गर्न लागेको बताए । ‘सार्क र अपिको छुट्टै समस्या हो, ‘उनले भने, ‘खोकाछाप्राको सम्झौता सकिएको हो, अपि र सार्कको बाँकी छ ।’

ताजा समाचार