काठमाडौँ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कैलाली र कञ्चनपुरका रानाथारु समुदायको उत्थानका लागि व्यावसायिक योजना अघि सार्नुपर्ने बताउनुभएको छ । नेपाल रानाथारु युवा समाजले पहिलो पटक आज काठमाडौँमा आयोजना गरेको होली मिलन तथा खखडेहरा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कैलाली र कञ्चनपुरमा मात्र बसोबास रहेको रानाथारु समुदायको आर्थिक समृद्धिका लागि आगामी बजेटमा विशेष व्यावसायिक कार्यक्रम ल्याउन आफुले पहल गर्ने बताउनुभयो ।
![](https://esudurdarpan.com/wp-content/uploads/2024/01/7adaf056-1371-435a-8f36-0468544720ac.jpg)
कैलाली र कञ्चनपुरमा रगत पसिना बगाउँदै आएको तथा दुई जिल्लाको बस्ती विकास र सुदूरपश्चिमको पहिचानमा रानाथारु समुदायको महत्वपूर्ण योगदान रहेको स्मरण गर्दै मन्त्री भण्डारीले उद्योग मन्त्रालयबाट सो समुदायको आर्थिक उत्थान हुने कार्यक्रम बनाउन भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभयो । लिखित रुपमै उत्पादनमुखी कार्यक्रम ल्याउन रानाथारु युवा समाजलाई आग्रह गर्दै उहाँले व्यावसायिक रुपमा पहिचान झल्काउने गरी नयाँ बजेटमार्फत कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । विभिन्न पेशा तथा व्यवसायमा पहिचान बनाएका राना थारु समुदायको पहिचान सिंगो देशले देख्ने गरी काठमाडौँमा होली मिलन कार्यक्रम गरेकामा उहाँले प्रशंसा व्यक्त गर्नुभयो ।
![](https://esudurdarpan.com/wp-content/uploads/2024/01/7d2760c2-08b4-4b4c-91a7-3fad66a6051c.jpg)
कार्यक्रममा थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरी, पूर्वमन्त्री नारदमुनी राना, संविधानसभा सदस्य कृपाराम राना लगायतले कैलाली र कञ्चनपुरमा मात्र बसोबास रहेको रानाथारु समुदायको उत्थानका विषय औल्याउनुभएको थियो । होली मिलन कार्यक्रममा कैलाली र कञ्चनपुरबाट कलाकार टोली यहाँ आएका छन् ।
![](https://esudurdarpan.com/wp-content/uploads/2024/01/d7138331-2147-4a09-b06e-e242a6fc9eb3.jpg)
![](https://esudurdarpan.com/wp-content/uploads/2024/01/Belndai.jpg)