राजेन्द्रप्रसाद पनेरु/कञ्चनपुर : ‘जातीयभेद एवं रंगभेद विरुद्ध कारवाहीका लागि आवाज उठाऔं’ भन्ने नारा सहित कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १० झलारीमा ५९ औं अन्तर्राष्ट्रिय जातीय तथा रंगभेद उन्मूलन दिवसका मनाईएको छ । बिहीवार दलित आदिवासी जनजाती न्यायका लागि सामाजिक रुपान्तरण अभियान मुल आयोजनक कमिटी शुक्लाफाटाँँ, कञ्चनपुरले कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रमका क्रममा पञ्चेवाजा सहित झलारी बजार परिक्रमा गर्दै जातीय विभेद विरुद्धको चेतनामूलक रयालीको आयोजना गरिएको थियो । रयालीमा जातीय विभेद विरुद्धका प्लेकार्डहरु प्रदर्शन गरिएका थिए ।

रयालीमा नेपालको संविधान २०७२ लाई कार्यान्वयन गरौं, स्थानिय सरकार सञ्चालन ऐन २०७४ पूर्ण रुपमा कार्यान्वन गर,दलित आदिवासी जनजाती समुदायका अधिकार लागु गर, सबै प्रकारका जातीय तथा लैंङ्गिक विभेदहरु अन्त्य गरौं, राज्यका हरेक निकायमा समावेशी समानुपातिक प्रतिनिधित्वको ग्यारण्टी गर, दलित आदिवासीहरुका स्थानिय सीप कला पेशा र व्यवसायको संरक्षण गर लगायतका नाराहरु लगाउने कार्य संगै प्लेकार्ड प्रदर्शन गरिएका थिए । कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सभा सदस्य गीता चौधरीले दलित र आदिवासी जनजाती माथि हुने सबै खाले विभेद अन्त्य गर्नका लागि संविधानलाई कार्यान्वयनमा ल्याउनु पर्ने बताउनु भयो । “जव सम्म दलित आदिवासी जनजातीको शिक्षामा पहुँच पुग्न सक्दै तव सम्म विभेद अन्त्य गर्न सकिदैन” उहाँले भन्नु भयो, “दलित र आदिवासी जनजातीका विद्यार्थीलाई राज्यले उच्च शिक्षा हासिल गर्नका लागि विशेष छात्रबृत्तिको व्यवस्था गरी शिक्षामा पहुँच पुरयाउनु पर्छ, शिक्षा संगै रोजगारीका क्षेत्रमा पनि प्राथमिकता दिएर अगाडी बढाउनु पर्छ ।” नेकपा (माओवादी केन्द)्रका केन्द्रिय सदस्य गोविन्द विकले विगतको दशवर्षे जनविद्रोहको प्रभावले संविधानमा दलित आदिवासी जनजातीका अधिकारको ग्यारेण्टी गरिएको बताउनु भयो ।

संविधानमा दिईएको अधिकार प्राप्तीका लागि संघर्ष गर्नु पर्नेमा उहाँको जोड थियो । राजनीतिका लागि बनाईएको जातीय व्यवस्था रहदा सम्म विभेद कायम रहने उहाँले बताउनु भयो । दलित समुदायले शिक्षा र रोजगारका क्षेत्रमा आत्मनिर्भर बने जातिय विभेदको अन्त्य हुने उहाँको भनाई रहेको छ । मानववादी पार्टीका अध्यक्ष मेघ बहादुर कामीले जातीय विभेद गर्नेलाई कानुनी दायरामा ल्याएर दण्डीत गरिनु पर्ने बताउनु भयो । शुक्लाफाँटा नगरपालिकाका निवर्तमान नगर प्रमुख दिल बहादुर ऐरले संविधान संगै राज्यले बनाएका ऐन तथा कानुनमा जातिय विभेद गर्ने लाई दण्डीत गर्ने प्रावधान राखेको बताउनु भयो । कानुन विरुद्ध जाने छुट कसैलाई नभएको विचार उहाँले व्यक्त गर्नु भयो । दलित, जनजातीका लागि बनाईएका आयोगलाई स्थानिय तहको वडा सम्म पुरयाईनु पर्ने उहाँले बताउनु भयो । वडा नं १२ का वडा अध्यक्ष नवल सिंह रानाले जातीय उन्मुक्तिका लागि सबैले एकजुट भएर अगाडी बढनु पर्ने बताउनु भयो । वडा नं ३ का वडा अध्यक्ष नरेन्द्रप्रसाद चौधरीले विभेद हटाउनका लागि सोचमा परिवर्तन गर्न जरुरी रहेको बताउनु भयो । वडा नं १ का वडा अध्यक्ष उत्तरदेव भट्टले कुनै पनि धार्मिक ग्रन्थहरुमा जातीय विभेदका कुराहरु उल्लेख नगरिएको चर्चा गर्नु हुदै जाती भन्दा माथि उठेर मानव भएर कार्य गरिनु पर्ने बताउनु भयो ।

गैसस महासंघ कञ्चनपुरका उपाध्यक्ष अमित तिरुवाले जातीय छुवाछुत विरुद्धको ऐन आएपछि १९ जना दलित समुदायका व्यक्तिको विभेदका कारण हत्या गरिएको बताउनु भयो । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक विर बहादुर बुढाऐरले जातीय विभेद गरिएको पाईए फौजदारी संहियता अनुसार कारवाही हुने प्रावधान रहेको बताउनु भयो । उहाले जातीय विभेदका घटना दर्ता गरी दोषीलाई कानुनी कठघारामा उभ्याउनका लागि प्रहरी कार्यालयमा छुट्टै जातीय डेस्कको व्यवस्था रहेको जानकारी दिनु भयो । दलित अगुवा गणेश विकले समाजमा विद्यमान देउकी, सति लगायतका प्रथाको अन्त्य भएपनि जातीय छुवाछुत प्रथाको अन्त्य हुन नसक्नुमा राज्य व्यवस्था दोषि रहेको बताउनु भयो । संविधानमा दलित समुदायलाई केही अधिकार दिईएको उल्लेख गर्नु हुदै उहाँले संविधान कार्यान्वयन गरिए विभेदका घटनामा कमी ल्याउन सकिने बताउनु भयो । दलित मुक्तिमोर्चाका केन्द्रिय सदस्य राजराम भुलले जातीय विभेद मानवता विरुद्धको कलंकका रुपमा रहेको उल्लेख गर्नु हुदै उहाँले पौराणिक हिन्दु धर्म ग्रन्थका संस्कृतका श्लोक पढदै जातीय विभेद गर्न नहुने कुरा उल्लेख गरिएको बताउनु भयो । लोक गायीका डिक्रादेवी बादीले गीत मार्फत कार्यक्रमा जातीय विभेदका पीडाहरु पोख्नु भयो । दलित अगुवा गोविन्द नेपालीले दलित समुदायलाई शिक्षा र भूमिमा पहुँच पुरयाउनु पर्ने बताउनु भयो । नीतिमा बाँधेर शिक्षा र भूमिमा दलित समुदायको पहुँच पुरयाउनु पर्ने धारणा अघि सार्दै उहाँले जातीय विभेदका मुद्दालाई मिलापत्रमा टुङ्गयाउनु नहुने बताउनु भयो ।
जातीय विभेद गर्नेलाई कानुनी कठघारामा उभ्याएर दण्डीत गरिनु पर्ने उहाँको भनाई थियो । शुक्लाफाँटा नगरपालिकाको भलमन्सा वरघर समितिका संयोजक बचन बहादुर रानाले आदिवासी जनजातीको अधिकारको ग्यारेण्टी गर्नका लागि बरघर, भलमन्सा ऐन नगरपालिको कार्यान्वयनमा ल्याउनु पर्ने बताउनु भयो । उहाँले दलित आदिवासी जनजातीका लागि नगरपालिकाले बजेट विनियोजन गरेको छैन त्यसका विरुद्ध संयुक्त मोर्चा बनाएर अधिकारका लागि लडनु पर्ने बताउनु भयो । दलित अधिकारकर्मी तथा राजनीतिकर्मी अनिता नेपालीले दलित समुदायका महिलालाई राजनीतिक प्रतिनिधित्व गर्ने अवसरबाट बञ्चित गरिदै आएको बताउनु भयो । दलित महिला राजनीतिको जुनसुकै मोर्चामा लडाई लडन तयार रहेको उल्लेख गर्नु हुदै उहाँले अधिकार दिनु पर्ने बताउनु भयो । अधिकार मागेर नदिईने भएकाले त्यसका लागि लडाई लडन तयार रहेको बताउनु भयो । राष्ट्रिय भूमि अधिकार मञ्चका सुदूरपश्चिम प्रदेश महासचिव राम बहादुर चुनाराले राज्यबाट पछि पारिएको वर्ग दलितलाई विशेष आरक्षणको व्यवस्था गरी समतामुलक समाज निर्माणका लागि राज्यले अग्रसरता देखाउनु पर्ने बताउनु भयो । उहाँले दलित आदिवासी जनजाती समुदायको उत्थानका लागि संघ, प्रदेश र स्थानिय सरकारले किटानी गरेर बजेट विनियोजन गर्नु पर्ने बताउनु भयो ।
गाउँ टोलमा हुने जातीय विभेद विरुद्ध सामाजिक जागरण फैलाउनु पर्ने उहाँको भनाई थियो । कार्यक्रमा स्वागत मन्तव्य राख्नु हुदै भागिराम चौधरीले दलित, आदिवासी जनजातीका मुद्दालाई ओझेलमा पर्न खोजिएकाले त्यसका विरुद्ध निर्णायक लडाई लडनका लागि आव्हान गर्नु भयो । कार्यक्रमको सभापतित्व दलित आदिवासी जनजाती न्यायका लागि सामाजिक रुपान्तरण अभियानका संयोजक शिवी लुहारले गर्नु भएको थियो । उहाँले कार्यक्रम समापन गर्नु हुदै दलित र आदिवासी जनजातीको अधिकारका लागि एकजुट हुनका लागि आव्हान गर्नु भयो । कार्यक्रममा सहभागी सबै प्रति आभार प्रकट गर्नु हुदै उहाँले दलित आदिवासी जनजातीको संयुक्त मोर्चाको अधिकारको लडाईनमा साथ दिनका लागि गरेको प्रतिवद्धताले हौसला थपिएको बताउनु भयो । कार्यक्रमको सञ्चालन अन्तराम वडले गर्नु भएको थियो । कार्यक्रममा आदिवासी राना थारु समुदायको होली नृत्य, सजना गीत लगायतका प्रस्तुती प्रस्तुत गरिएका थिए ।
