शुक्लाफाँटा शिक्षालयको भवन उद्घाटन

झलारी : कञ्चनपुरको झलारीस्थित शुक्लाफाँटा बहुप्राविधिक शिक्षालयको नवनिर्मित भवनको आज उद्घाटन गरिएको छ। नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भवनको उद्घाटन गरेका छन् । उद्घाटन समारोहमा सुदूरपश्चिम प्रदेशसभा सदस्य ओमविक्रम भाट ‘सरल’ले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, शिक्षामन्त्री गिरिराजमणि पोखरेल लगायतको सक्रियतामा शुक्लाफाँटा बहुप्राविधिक शिक्षालय स्थापना भएको बताए ।

उनले गणतन्त्र स्थापना पश्चात सुदूपश्चिम प्रदेशमा ठूल्ठूला विकासका परियोजना अघि बढेको बताए । “सुख्खा बन्दरगाह, महाकालीमा ४ लेनको पुल, ४ लेनको सडक, गेटा मेडिकल विश्वविद्यालय लगायत ठूल्ठूला विकास निर्माणका योजनाहरू अघि बढेका छन्,” उनले भने । उनले शुक्लाफाँटा बहुप्राविधिक शिक्षालयको विकासका लागि आफू लागि पर्ने बताए
शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख रणबहादुर महराले एमाले अध्यक्ष ओली प्रधानमन्त्री भएको बेला शुक्लाफाँटामा बहुप्राविधिक शिक्षालय स्थापनाका लागि स्विकृति प्राप्त गरेको बताए । पूर्व प्रधानमन्त्री ओलीको पालामा नै भवन निर्माणको काम समेत अघि बढेको नगर प्रमुख महराले स्मरण गरे ।

प्राविधिक शिक्षालय स्थापना हुँंदा कञ्चनपुरको २ नम्बर क्षेत्रबाट प्रतिनिधिसभा सदस्य नरबहादुर धामी थिए । शिक्षालयका संस्थापक प्रमुख पारस खड्काले निवर्तमान प्रतिनिधिसभा सदस्य नरबहादुर धामी, तत्कालीन प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडा, तत्कालीन नगर प्रमुख दिलबहादुर ऐर लगायतको सहयोगमा शिक्षालय स्थापना गर्न सकिएको बताए । उनले शिक्षालयको थप प्रगतिको कामना गरे । निवर्तमान प्रतिनिधिसभा सदस्य नरबहादुर धामीले यहाँ जिल्ला प्रशासन कार्यालयको नाममा रहेको २५ विगाह जग्गा सिटिइभिटीको नाममा लिनका लागि पहलकदमी लिइएको बताए । यो क्षेत्रलाई प्राविधिक शिक्षालयको हब बनाउनका लागि आफू विगतदेखि नै लागिपरेको उनले बताए । उनले थप संरचना निर्माणका लागि आफूले पहलकदमी लिने बताए ।
कञ्चनपुरको विकासका लागि आफूले कुनै कसर बाँकी नराख्ने उनले बताए । शुक्लाफाँटा बहुप्राविधिक शिक्षालयको सुरुवात गरिएको बताउँदै यसलाई थप व्यवस्थित गरेर सुदूरपश्चिमकै आर्थिक विकासका निम्ति शिक्षालयले महत्वपूर्ण भूमिका खेल्ने उनले विश्वास व्यक्त गरे ।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सिटिइभीटका उपकूलपति खगेन्द्र अधिकारीले शिक्षालयको थप विकासमा सिटिइभीटी प्रयासरत रहने उनले बताए । शुक्लाफाँटा बहुप्राविधिक शिक्षालय आंगिक शिक्षालय रहेको बताउँदै सिटिइभीटीतर्फ आंगिक,साझेदर,सामुदायिक विद्यालयमा प्राविधिक तथा निजी कार्यक्रम गरी चार प्रकारका शिक्षालय अहिले सञ्चालित रहेको उनले बताए ।
शुक्लाफाँटा बहुप्राविधिक शिक्षालयका अध्यक्ष एवं कञ्चनपुरका प्रमुख जिल्ला अधिकरी (सिडिओ) गोपालकुमार अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथि रहेका थिए । पूर्व मन्त्री लेखराज भट्ट, नारदमुनि राना,संविधान सभा सदस्य टेकेन्द्र प्रसाद भट्ट, सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र रावल, पूर्व प्रतिनिधिसभा सदस्य निरुदेवी पाल लगायतको उपस्थिति रहेको थियो ।

ताजा समाचार