पुनर्वास नगरपालिका द्वारा ट्राफिक प्रहरीलाई (मापसे) परिक्षण गर्ने ब्रेथलाईजर मेसिन हस्तान्तरण

पुनर्वास: कञ्चनपुरको दक्षिणी भेग स्थित पुनर्वास नगरपालिकामा सवारी चालकले मादक पदार्थ सेवन (मापसे) गरे नगरेको जाँच हुने भएको छ । ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्ती स्थित अस्थायी ट्राफिक प्रहरी पोष्ट लाई (मापसे) परिक्षण गर्ने ब्रेथलाईजर मेसिन उपलब्ध गराएसँगै पुनर्वास नगरपालिकामा अब मापसे परिक्षण हुने भएको हो ।  सवारी चालकले सवारी चलाउँदा मादक पदार्थ सेवन गरे नगरेको परिक्षण गर्न र दुर्घटना न्यूनिकरणका लागि एक लाख ५८ हजार बराबरको एक थान ब्रेथलाईजर मेसिन खरिद गरि सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजीव बस्नेतको उपस्थितिमा अस्थायी ट्राफिक प्रहरी पोष्ट त्रिभुवन बस्तीलाई हस्तान्तरण गरिएको पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माले बताउनुभयो ।

हस्तान्तरणकै क्रमममा नगरप्रमुख शर्माले ट्राफिक जनचेतना अभिवृद्धीका साथै सवारी दुर्घटना न्युनीकरणका लागी ट्राफिक प्रहरीसँग निरन्तर रुपमा सहकार्य गर्दै पुनर्वास नगरपालिका भविष्यमा पनि अगाडी बढ्ने प्रतिबद्धता समेत व्यक्त गरे । मापसेका कारण हुने सवारी दुर्घटना न्युनिकरण गर्न नगर पालिकाले ट्राफिक प्रहरीलाई ब्रेथलाईजर मेसिन उपलब्ध गरिएको नगर प्रमुख शर्माको भनाइ छ ।सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजीव बस्नेतलाई पुनर्वास नगरपालिकाको कार्यालयमा एक अनौपचारिक कार्यक्रमका बिच ब्रेथलाईजर मेसिन हस्तान्तरण गरिएको नगरप्रमुख शर्माले जानकारी दिनुभयो ।  मदिरा सेवन गरेर सवारी साधन चलाउने चालकलाई नियन्त्रण तथा कारवाही गर्नका लागि ब्रेथलाईजरको आवश्यकता बुझेर पुनर्वास नगरपालिकाले सहयोग गर्नुभएकोमा सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख बस्नेतले धन्यवाद व्यक्त गर्नुभएको छ ।

कैलाली , कञ्चनपुर लगायतका अन्य जिल्ला हरूमा पनि ट्राफिक प्रहरीलाई मापसे परिक्षण गर्ने ब्रेथलाईजर मेसिनको अभाव थियो । पुनर्वास नगरपालिकाले जोखिम न्यूनीकरणका लागि ब्रेथलाइजर मेशिन उपलब्ध गरि सर्हानिय कार्य गरेको प्रहरी उपरीक्षक बस्नेतले बताए। उनले नजिकिँदै गरेको होली पर्वलाई लक्षित गरेर पुनर्वास नगरपालिकाले चाडपर्वमा हुने सवारी व्यवस्थापन, दुर्घटना न्यूनीकरण तथा यात्रुलाई पर्न सक्ने विभिन्न समस्यालाई सम्बोधन गर्न टेवा पुग्ने बताए। उक्त हस्तान्तरण कार्यक्रममा पुनर्वास नगरपालिका वडा नं १ का वडाध्यक्ष मोहनलाल राना,वडा नं ७का वडाध्यक्ष मुलचन्द राना, प्रमुख प्रशासकीय अधिकृत गणेश सिंह ऐर ,बिनि शिवराज भट्ट, योजना अधिकृत शंकर बोगटी,ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका ईन्चार्ज प्रहरी निरीक्षक हेमराज भट्ट, अस्थायी ट्राफिक प्रहरी पोष्ट त्रिभुवन बस्तीका ईन्चार्ज जीवन सिंह भण्डारी , लगायत ब्यवसायी दाउत तामाङ र खगेन्द्र ओझाको समेत उपस्थिति रहेको थियो।

ताजा समाचार