शुक्लाफाँटा नगरपालिकामा लालपुर्जा वितरण शुरु

कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा लालपुर्जा वितरण शुरु गरिएको छ । बुधबार शुक्लाफाँटा नगरपालिका ५ का जनतालाई लालपुर्जा वितरण गरिएको हो । राष्ट्रिय भूमि आयोग कञ्चनपुरले शुक्लाफाँटा नगरपालिकामा पहिलो पटक लालपुर्जा वितरण गरेको छ । राष्ट्रिय भूमि आयोग कञ्चनपुरका सदस्य पार्वती नेगी(कार्की)ले ८७ परिवारलाई लालपुर्जा वितरण गरेको बताईन । शुक्लाफाँटा नगरपालिका प्रमुख रण बहादुर महराले पहिलो चरणमा ५नम्बर वडादेखि लालपुर्जा वितरण शुरु गरिएको बताए ।

‘हामीले जमिन भएर पनि स्वामित्व नभएका जनतालाई जमिनको मालिक बनाउन अहिले सफल भएका छौँ, ‘मेयर महराले भने, ‘यो त शुरुवात मात्रै हो, बाँकी वडाहरुमा पनि वितरण गछौँ ।’ दुई बर्षभित्रै जमिन नापजाँचको काम सकेर जनताको हातहातमा लालपुर्जा वितरण गर्ने मेयर महराको सकल्प छ । राष्ट्रिय भूमि आयोग कञ्चनपुरका अध्यक्ष देवेन्द्र ढुङ्गानाले सबै प्रकृया पुरा भईसकेका पुर्जा वितरण जिल्लाभरीमै गरिने बताए । अध्यक्ष ढुङ्गानाले यस अघि कृष्णपुर, बेदकोटमा लालपुर्जा वितरण गरिएको बताए । बाँकी जिल्लाभरी वितरण गर्दै जाने बताए ।

ढिलै भए पनि जमिनको मालिक बनेपछि लालपुर्जा पाएका शुक्लाफाँटा नगरका जनता समेत हर्षित भएका छन । लालपुर्जा वितरण कार्यक्तममा राष्ट्रिय भूमि आयोग कञ्चनपुरका अध्यक्ष देवेन्द्र ढुङ्गाना, नगर प्रमुख रण बहादुर महरा, राष्ट्रिय भूमि आयोगसदस्यद्वय दिल बहादुर देउवा, पार्वती नेगी(कार्की) सहितका जनप्रतिनिधी, जनताको सहभागिता रहेको थियो ।

ताजा समाचार