गणेश एसके / महेन्द्रनगर : कञ्चनपुर जिल्ला अदालत बार एसोसिएसनको २१ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सोमबार कञ्चनपुर जिल्ला बारको हलमा एकैदिन उदघाटन सत्र र बन्द सत्र सम्पन्न भएको हो । कञ्चनपुर जिल्ला अदालत बारका अध्यक्ष कृष्णदेव जोशीको अध्यक्षतामा भएको वार्षिक साधारण सभालाई प्रमुख अतिथि उच्च अदालत दिपायल महेन्द्रनगर इजलासका मुख्य न्यायाधीश दिनेश प्रसाद यादवले उदघाटन गरेका हुन् । वार्षिक साधारण सभाको खुला सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि मुख्य न्यायाधीश दिनेश यादवले बार एसोसिएसन र अदालत बीचको सम्बन्धलाई बलियो बनाएर एकआपसमा सहकार्यको वातावरण सिर्जना गर्न आबस्यक रहेको बताए । न्यायालयको न्याय सम्पादनमा सरोकार राख्ने प्रहरी , वकिल , अदालत र अन्य निकायबीच सम्बन्धित समस्याको समाधान गर्न लागि आफूले पहलकदमी लिने पनि न्यायाधीश यादवको भनाई छ ।
उनले भने , “सबै निकायले आआफ्नो आचारसंहिता भित्र बसी काम गरेका न्यायिक क्षेत्रका धेरै समस्या समाधान हुन्छन् । ” न्यायाधीश यादवले अदालतमा मुद्दाको चापलाई कम गर्नका लागि आफू प्रयासरत रहेको बताए । बैतडी , दार्चुला र डडेलधुरा जिल्लाबाट उच्च अदालत दिपायल महेन्द्रनगर इजलासमा अनलाइनको माध्यमबाट भर्चुल बहस पैरवी गर्न मिल्ने प्रबन्ध मिलाएको उनले जानकारी गराए । त्यस्तै अर्का वक्ता नेपाल बार काउन्सिलका सुदुरपश्चिम प्रदेशका पार्षद प्रकाश पाण्डे एकले अर्कालाई दोषारोपण गर्नु भन्दा पनि विगतको इतिहासलाई शिक्षाको रुपमा ग्रहण गर्दै आगामी दिनमा सक्षम नेतृत्व चयन गरी अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले जिल्लाको न्याय क्षेत्रको स्तरियतलाई उकास्नका लागि तथा सम्पूर्ण कानून व्यवसायीको क्षमता अभिवृद्धि तालिम प्रशिक्षण जस्ता कार्यक्रम गर्नुपर्नेमा बारको नेतृत्व चुकेको बताए । बार एसोसिएसनलाई समय दिन सक्ने र समग्र कार्यसमितिको नेतृत्व लिन सक्ने व्यक्तिले बारको पदाधिकारीमा स्थान पाउनुपर्ने उनको भनाइ थियो । त्यस्तै उच्च अदालत दिपायल महेन्द्रनगर इजलास बार एससिएसनका अध्यक्ष यज्ञराज जोशीले यस क्षेत्रको न्याय सम्पादनमा जिल्ला बार एसोसिएसनको महत्वपूर्ण भूमिका रहँदै आएको बताए ।
उनले पछिल्लो समयमा कानून व्यवसायमा खस्किदो पेसागत मर्यादालाई सुधार गर्दै लैजानुपर्नेमा जोड दिए । जोशीले भने ,“विगतका कमी कमजोरीहरुको समीक्षा गर्दै आगामी दिनमा बार एसोसिएसनले सबै सरोकारवाला पक्ष संगको सहकार्यमा काम गर्नुपर्छ ।”वार्षिक साधारण सभाका अध्यक्ष कृष्णदेव जोशीले जिल्ला बारको भौतिक पूर्वाधार निर्माण तथा आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्नुहुने सबैप्रति धन्यबाद व्यक्त गरे । आजै सम्पन्न बारको २१ वार्षिक साधारण सभाले अधिवक्ता नरेन्द्र बहादुर सिंहको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । जसमा अध्यक्षमा नरेन्द्र बहादर सिंह ,उपाध्यक्षमा हरेन्द्र राज विष्ट ,सचिवमा शंकर बहादुर विष्ट, सहसचिवमा पूर्णिमा भट्ट जोशी र कोषाध्यक्षमा विश्वम्भर नाथ चयन भएका हुन् । कञ्चनपुर जिल्ला बार एसोसिएसनको वार्षिक साधारण सभाको खुला सत्रमा उच्च अदालत दिपायल महेन्द्रनगर इजलासका न्यायाधीशहरु , रजिष्टार, कर्मचारी , जिल्ला अदालत कञ्चनपुरका कर्मचारी , बार एसोसिएसन संग पूर्व पदाधिकारी तथा सम्बद्द व्यक्तिहरू लगायतको सरोकारवाला निकाय सहभागी थिए।