कालिका सामुदायिक वन उपभोक्ता समुहको १६ औं वार्षिक साधारण सभा सम्पन्न

झलारी : शुक्लाफाँटा नगरपालिका ११ कलुवापुर स्थीत कालिका सामुदायिक वन उपभोक्ता समुहको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाको प्रमुख अतिथिमा वडा अध्यक्ष शेर बहादुर साउद रहनु भएको थियो । साधारण सभामा मन्तव्य राख्नु हुदै वडा अध्यक्ष साउदले वन ऐन र सामुदायिक वनको कार्यविधि नियमावली अनुसार कार्यक्रम पारदर्शी ढंगले सञ्चालन हुनु पर्ने बताउनु भयो । उहाँले काठ वितरणको कार्यलाई नियम संगत तरिकाले अगाडी बढाइनु पर्ने उल्लेख गर्नु हुदै विवाद रहित तरिकाले सहमतीका आधारमा नयाँ कार्य समिति गठन हुनु पर्नेमा जोड दिनु भयो ।

वन वातावरणका क्षेत्रमा वडा कार्यालयका तर्फबाट कार्यक्रम सञ्चालन गर्न कटिवद्ध भएको उहाँले बताउनु भयो । वन वातावरण विनास हुदै जादा जलवायू परिवर्तनको असर गहिरिदै गएको धारणा अघि सार्दै उहाँले वनको जैविक विविधता जोगाउनका लागि सबैको सहकार्य हुनु पर्ने बताउनु भयो । वडाको सन्तुलित विकासका लागि कटिवद्ध भएर लागेको चर्चा गर्नु हुदै उहाँले सिचाई, खानेपानी, सडक, कल्भर्ट, स्वास्थ्य संस्था, विद्यालय लगायतका भौतिक संरचना निर्माणमा जोड दिदै अगाडी बढदै आएको बताउनु भयो ।

सव वन डिभिजन कार्यालय शुक्लाफाँटाका प्रमुख भोजराज शर्माले वन ऐन, नियमावली अनुसार सामुदायिक वनले आफना काम कारवाही अगाडी बढाउनु पर्ने बताउनु भयो । सामुदायिक वनका पूर्व अध्यक्ष टेक बहादुर हमालले वन क्षेत्रमा उत्पादन हुने काठ, दाउरा, घाँस लगायतको उपभोग गर्ने मात्रै नभएर वन जोगाउनका लागि कार्ययोजना बनाई अगाडी बढनु पर्ने सुझाव दिनु भयो । कार्यक्रममा वडा सदस्य राजेश शाही, समाजसेवी शिवराज भट्ट, श्रीकृष्ण सामुदायिक वनका अध्यक्ष अमर बहादुर ऐर लगायतले साधारण सभामा सामुदायिक वनको प्रगतीको सुभकामना दिनु भएको थियो ।

ताजा समाचार