मणिका धाममा लाग्ने मेलाको तयारी अन्तिम चरणमा

राजेन्द्रप्रसाद पनेरु/ कञ्चनपुर ः शुक्लाफाँटा नगरपालिकाको महत्वपूर्ण धार्मिक पर्यटकीय क्षेत्र मणिका धाम क्षेत्रमा लाग्ने मेलाको तयारी अन्तिम चरणमा पुगेको छ ।चैत ५ गते राती देखि शुरु हुने मेला ६ गते साँझ पख् सम्म सञ्चालन हुने छ । प्रत्येक वर्ष फागुन–चैत महिनाको शुक्लपक्षको नवमीको राती देखि सिद्धनाथको पूजा आजा गर्ने गरिन्छ । मेलामा पुग्ने भारतीय तथा आन्तरिक श्रद्धालुभक्तजनहरुलाई मध्यनजगर गरी खानेपानीको आवश्यक प्रवन्ध मिलाईएको बैजनाथ धार्मिक तथा पर्यटकीय विकास समितिका अध्यक्ष पुरन हमालले बताउनु भयो । “धाम क्षेत्रमा पुग्ने श्रद्धालुहरुको सहजताका लागि धुलाम्मे सडकमा पानी छर्कने व्यवस्थाका लागि नगरपालिका संग समन्वयको कार्य गरेका छौं” उहाँले भन्नु भयो, गाडी पार्किङ्ग गर्ने स्थान तोक्ने कार्य र व्यवस्थीत गर्ने कार्यका लागि छलफल भैरहेको छ ।”

मेलामा अपृय घटना हुन नदिनका लागि सुरक्षाका लागि प्रहरी संग समन्वयको कार्य भैसकेको उहाँले उल्लेख गर्नु भयो । मन्दिर परिसर क्षेत्रमा स्थानिय श्रद्धालुभक्तजनहरुको सहयोगमा सरसफाईको कार्य गरिएको मन्दिरका कारिन्दा डम्बर बहादुर ऐरले बताउनु भयो । “धार्मिक भक्तजनहरुको अत्यधिक चाप हुने भएकाले त्यसकै व्यवस्थापनको पूर्व तयारीमा जुटेका छा”ैं उहाँले भन्नु भयो, “साधु, ब्राम्हण, अन्य भक्तजन बस्ने स्थान निर्धारणको कार्य भैरहेको छ ।” प्रत्येक वर्षझै यस वर्ष पनि श्रद्धालु भक्तजनहरुको निकै भिड लाग्ने अनुमान गरी त्यसै अनुरुप तयारीको कार्य भैरहेको उहाँको भनाई रहेको छ । मेलामा एक लाख बढी भक्तजनहरु पुग्ने अनुमान गरिएको छ । धाम क्षेत्रलाई स्थानिय बासिन्दाले मुडकाका नामले चिन्ने गर्दछन । थारु भाषामा ‘मुड’ भन्नाले शिर भन्ने बुझिन्छ । सबै भन्दा अग्लो स्थानमा सिद्धनाथको थपना भएकाले यसलाई मुड्का भन्ने गरिएको थारु बुढापाकाहरुको भनाई रहेको छ । मन्दिर नजिकै सुन्दर तलाउ पनि रहेको छ । जसलाई स्थानियले मुडका ताल भन्ने गर्दछन ।

ताल भने संरक्षणको अभावमा परिदै जान थालेको छ । संघीय सरकाले यस वर्ष सात प्रदेशका मुख्य पर्यटकीय क्षेत्रको विकास गर्ने योजना अनुसार सुदूरपश्चिम क्षेत्रमा मणिका धाम क्षेत्रका लागि रु एक करोड बजेट विनियोजन गरेको छ। मन्दिरको चारै तिर घना सालको वन रहेको छ । पूर्व पश्चिम राजमार्गको कलुवापुर र झलारी क्षेत्र हुदै गाडी चढेर आधा घण्टामै मणिका धाम क्षेत्र सम्म पुग्न सकिन्छ । मणिका धाम क्षेत्रमा सिद्धनाथ बाबाको प्राचिन मन्दिर, विवाह मण्डप, धुनी घर, भजनकिर्तन गर्ने स्थल संगै साधु बस्ने कुटि रहेको छ ।

ताजा समाचार