हिँसा न्यूनीकरणमा जोड दिँदै शुक्लाफाँटामा मनाइयो अन्तर्राष्ट्रिय महिला दिवस

केशब थापा /कञ्चनपुर : शुक्लाफाँटा नगरपालिकामा अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको छ । नगरपालिकाको आयोजनामा शुक्रवार “महिलामा लगानी : सभ्य र समुन्नत समाजको थालनी” भन्ने नाराका साथ ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको हो । नगर उपप्रमुख कल्पना जोशी (पन्त)को सभापतित्वमा भएको कार्यक्रममा नगर प्रमुख रण बहादुर महरा प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा सहभागि महिलाहरुले घरेलु हिँसा विरुद्ध नाटक प्रस्तुत गरेका थिए । त्यस्तै महिलाहरुले बेलुन फुटाउने,घैटो फुटाउने,कुर्सी दौड,देउडा,झुम्रा नाच प्रस्तुत गरेका थिए ।

कार्यक्रममा सहभागिहरुले महिला हिँसा न्यूनीकरणमा जोड दिएका थिए । कार्यक्रममा बोल्दै कमला ऐरले पछिल्लो समय महिलामाथि विभिन्न किसिमका हिँसा भइरहेको भन्दै यसको न्यूनीकरणमा सबै लाग्नुपर्ने बताइन् । धर्मा ऐर भण्डारीले  पनि महिला हिँसा न्यूनीकरणमा जोड दिदै महिलाहरुको हक अधिकार स्थापित हुनुपर्ने बताइन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख महराले महिलाहरु सचेत भएर विभेद विरुद्ध लड्नुपर्ने बताए ।संविधानमा नै महिलाको हक अधिकारको ग्यारेन्टी गरिएको बताउँदै राजनीतिक,प्रशासनिक तहमा महिलाको पहुँच स्थापित भएको नगर प्रमुख महराले बताए । “संवैधानिक निकाय अन्तर्गत महिला आयोगको व्यवस्था गरिएको छ । महिलाको ३३ प्रतिशत आरक्षणको व्यवस्था छ । नगर प्रमुख महराले भने ।”

नगरपालिकामा नगर प्रहरी भर्ना गर्न लागिएको बताउँदै नगर प्रमुख महराले भने,“यसमा महिलाको हकको ग्यारेन्टी गरिएको छ । समावेशी सिद्धान्त अनुरुप महिला कोटाका लागि समेत आवेदन माग गरेका छौँ ।” उनले नगरपालिकले कसैलाई पनि काखापाखा नगरी समान किसिमको व्यवहार गरेको भन्दै महिलाहरुका समस्या समाधान गर्न नगरपालिका तयार रहेको बताए । “महिलाहरुका समस्याहरु के-के छन् ? नगरपालिकामा नगर उपप्रमुखको नेतृत्वमा न्यायिक समति छ,त्यहाँ खुलेर आफ्ना समस्याहरु राख्नुहोस्,तपाईहरुका समस्या समाधान गर्न हामी तयार छौँ ।” महिलाहरुलाई अवसर भएको ठाउँमा अगाडि आउन आग्रह गर्दै आवश्यक साथ,सहयोग गर्न नगरपालिका तत्पर रहेको नगर प्रमुख महराको भनाई थियो । महिलाहरुले आफ्ना हक,अधिकार स्थापितका लागि सशक्त रुपमा आवाज उठाउनुपर्ने पनि उनले बताए ।

वडा नम्बर ८ का वडाध्यक्ष बहादुर सिंह महराले राजनीतिक,प्रशासनकि क्षेत्रको उच्च तहमा महिलाको सहभागिता बढि हुनुपर्नेमा जोड दिदै महिलामाथि हुने हिँसा निराकरणका लागि सबैले भूमिका खेल्नुपर्ने बताए । वडा नम्बर ९ का वडाध्यक्ष रमेश बहादुर ऐरले पनि महिला हिँसा न्यूनीकरणमा जोड दिए । कार्यक्रमको समापन गर्दै नगर उपप्रमुख पन्तले महिलाहरु चुलो चौकोमा मात्रै सिमित नरहनुपर्नेमा जोड दिइन् । नगरपालिकाले महिलाहरुको हकहितका लागि कार्यहरु गरिरहेको उनको भनाई थियो ।कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष नरेन्द्र प्रसाद चौधरी,वडा नम्बर १० का वडाध्यक्ष लाल बहादुर ऐर,ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक बीर बहादुर बुडाऐर,महिला,पत्रकार लगायतको उपस्थिती रहेको थियो । निलावती भट्टले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन मधु बोहराले गरेकी थिइन् । सभ्य र न्यायपूर्ण समाज निर्माण गर्न, महिलाका अधिकार र सशक्तीकरणका सवालमा आवाज बुलन्द गर्न, महिलाको सहभागिता, विभेद, असमानताका सवालमा ¥याली, जुलुस तथा विभिन्न सचेतनामूलक कार्यक्रम गरी देशभर आज दिवस मनाइएको छ । प्रत्येक मार्च ८ को दिनमा नारीहरूको सम्मान, जागरण, हक, अधिकारको सुनिश्चित गर्दै संसारभर अन्तर्राष्ट्रिय महिला दिवस मनाइन्छ ।

ताजा समाचार