राजेन्द्रप्रसाद पनेरु / कञ्चनपुर : सहिदहरुको त्याग र बलिदानलाई विचारमा बदल्नु पर्ने कृष्णपुर नगरपालिका ६ सिंहपुरमा आयोजित सहिद सप्ताहको समापन समारोहका वक्ताहरुले उल्लेख गर्नु भएको छ । नेकपा(माओवादी केन्द्र) निकट सहिद तथा वेपत्ता परिवार समाज कञ्चनपुरले आयोजना गरेको कार्यक्रममा बोल्दै समाजका अध्यक्ष खडक सिंह साउदले वलिदान विश्व मानव मुक्तिका लागि भएकाले सहिदको आदर्शलाई आत्मसात गरिनु पर्ने बताउनु भयो । बलिदान रुपान्तरणको उर्जा भएकाले संघीय गणतन्त्र, समावेशी र धर्मनिरपेक्षतालाई समाजवादको सम्म पुग्न सक्ने सकिने उहाँले बताउनु भयो । सहिद प्रतिष्ठान कञ्चनपुरका अध्यक्ष विर बहादुर राजवंशीले सहिदहरुको जीवनी, इतिहास खोज अनुसन्धान गरी लेखन र प्रकासमा जोड दिनु पर्ने बताउनु भयो । “राजपत्रमा सहिदको सूचिमा सूचिकृत सहिदहरुलाई एउटै मालामा गाँस्न पहल गरिनु पर्छ” उहाँले भन्नु भयो, “सहिद परिवारको बैचारिक स्तरलाई उचो राख्नका लागि कार्यक्रम ल्याईनु पर्छ ।”
सहिद परिवारहरुलाई संगठीत गरी सामुहिक हितका लागि गरिएको बलिदानको महत्वबोध गराउदै समग्र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सहिद परिवारको भूमिकालाई अभिव्यक्त गरिनु पर्ने उहाँको भनाई रहेको छ । बेपत्ता परिवार समाजका अध्यक्ष नरेन्द्रप्रसाद चौधरीले समय अनुकुल संघर्ष निरपेक्ष हुने हुदा परिस्थितिको अनुकुल कार्यक्रम तय गरिनु पर्नेमा जोड दिनु भयो । उहाँले देशको राजनीतिक फेरवदल पछिको प्रारम्भ बाह्र बुँदाका शान्ति सम्झौताका संघीय गणतन्त्रको घोषणा, एउटै राज्यमा दुई सेना, सत्ता र न्याय प्रणालीको संयोजन र सत्य निरुपण तथा मेलमिलाप आयोगका अधुरा कार्य यथासिघ्र कार्यान्वयन गर्न दवाव सृजना गरिनु पर्ने बताउनु भयो । सहिद परिवारको स्वास्थ्य, रोजगारी, शिक्षा लगायतका समस्या समाधान गरिनु पर्ने अमिन दहितले बताउनु भयो । सहिद परिवारहरुको शिक्षा, स्वास्थ्य र रोजगारीका लागि संठीत रुपमा आवाज उठाउनु पर्ने अबस्थाको सृजना भएको उहाँले बताउनु भयो । सहिद परिवारलाई आत्मनिर्भर बनाउनका लागि बैचारिक, पेशागत प्रशिक्षण, सहकारीहरुमा सहभागीता लगायतका कार्यक्रम बनाई कार्यान्वयन गरिनु पर्ने नेकपा(माओवादी केन्द्र) कञ्चनपुरका इन्चार्ज टेकेन्द्रप्रसाद भट्टले बताउनु भयो ।
वर्ग विभाजित समाज सबै कुरामा सापेक्ष हुने हुदा द्वन्द्वात्मक भौतिकवादी दृष्टीकोण सर्वोत्कृष्ट वैज्ञानिक मान्यताका रुपमा रहेको उल्लेख गर्नु हुदै उहाँले देशमा एकात्मक राजतन्त्रको अन्त्यभै लोकतान्त्रीक गणतन्त्र, समावेशी र धर्मनिरपेक्ष राज्यको स्थापना भएपनि मानव जीवनको दृष्टी अनुरुप अबस्था बदल्नका लागि भूमी र उत्पादीत बस्तु समाजवादी चरित्रको हुन नसकेको बताउनु भयो । मुलुकको समृद्धि र मानव जातिको मुक्तिलाईनै जीवतन्त बनाउन सहादत्त प्राप्त गर्ने महान सहिदहरुको सपनालाई सकार पार्नु पर्ने आजको आवश्यकता भएको उहाँको भनाई रहेको छ । यसै अवसरमा सहिद तथा वेपत्ता परिवार समाज कञ्चनपुरका अध्यक्ष खडक सिंह साउदको नेतृत्वमा १५ सदस्यीय जिल्ला कार्य समिति चयन गरिएको छ । सहिद प्रतिष्ठान नेपाल कञ्चनपुरको प्रथम भेलाबाट विरबहादुर राजवंशीको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्य समिति चयन गरिएको छ । सोमवार सहिद सप्ताहको अवसरमा दुई सय बढी सहिद परिवारलाई नेकपा(माओवादी केन्द्र)का उप महासचिव गिरिराजमणी पोख्रेलले सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मानित गर्नु भएको थियो ।