राजेन्द्रप्रसाद पनेरु / कञ्चनपुर : युवाहरुलाई स्थानिय स्तरमै रोजगारीका अवसर सृजना गर्नका लागि शुक्लाफाँटा नगरपालिका ९ मा सवारी चालक एक महिने तालिम सञ्चालन गरिएको छ । वडा कार्यालयको आब २०८०/८१ को बार्षिक स्वीकृत कार्यक्रम अनुसार तालिम सञ्चालन गरिएको हो । तालिम सञ्चालनका लागि वडा कार्यालयले रु दुई लाख ५० हजार बजेट विनियोजन गरेको छ । सवारी चालक तालिमका लागि रु दुई लाख ५० हजार विनियोजित बजेट विनियोजन गरिएको छ । लटिनाथ ड्राइभिङ प्रशिक्षण केन्द्र धनगढी संग सम्झौता गरी तालिम सञ्चालन गरिएको वडा अध्यक्ष रमेश बहादुर ऐरले बताउनु भयो । सम्झौता अनुसार विहान सात बजे देखि साँझ पाँच बजे सम्म सवारी चालक तालिमका प्रशिक्षार्थीहरुलाई सैद्धान्तिक र प्रयोगात्मक रुपमा प्रशिक्षण दिने व्यवस्था गरिएको उहाँले जानकारी दिनु भयो ।


तालिममा २६ जना प्रशिक्षार्थी सहभागी रहेका छन । जस मध्ये छ जना महिला प्रशिक्षार्थी रहेका छन । तालिम लिनेमा २० देखि ३० वर्ष उमेर समुहका युवा युवतीहरु संलग्न रहेका छन । “युवायुवतीहरुलाई स्थानिय स्तरमै रोजगारमा जोडनका लागि तालिम सञ्चालन गरेका हौं” उहाँले भन्नु भयो, “तालिम लिएर दक्ष बनेपछि टयाक्सी लगायतका साधन खरिद गरेर चलाउ छन, केहीले अरुको सवारी सधान चलाएर रोजगारी पाउछन, केही भाडाका सवारी साधन चलाएर रोजगारी संग जोडिन्छन ।”तालिम लिएर सवारी साधन चलाउन दक्ष बन्नेहरुले बैदेशिक रोजगारीमा जान चाहे सामान्य श्रमिकको भन्दा बढीनै तलब पाउने उहाँले उल्लेख गर्नु भयो । तालिम उद्घाटन गर्नु हुदै नगर उप प्रमुख कल्पना पन्तले तालिम लिने क्रममा झर्को नमानिकन प्रशिक्षक संग नबुझेका कुराहरु प्रशिक्षार्थीहरुले सिकाई माग्नु पर्ने बताउनु भयो ।


“सबै कुरा सिकेपछि मात्रै दक्ष चालक बन्न सकिन्छ” उहाँले भन्नु भयो, “युवाहरुले कुलतमा फस्नु भन्दा सीप सिकेर दक्षभै रोजगारीमा संलग्न हुनु पर्छ । ”तालिममा महिला, दलित, आदिवासी जनजाती लगायतलाई प्रशिक्षार्थीका रुपमा समावेशी तरिकाले सहभागी गराईएको छ । तालिम लिने प्रशिक्षार्थीलाई एक महिना सम्म दैनिक चार किलोमिटरका दरले गाडी चलाउन लगाईने प्रशिक्षण केन्द्रका प्रमुख रमेश बहादुर सिंहले बताउनु भयो । सबैलाई पालै पालो निर्धारित समय अनुसार प्रशिक्षण गराइने उहाँले बताउनु भयो । चालकको तालिम लिन आउनु भएका किरन बुढाऐरले प्रशिक्षण लिए पछि आफनै टयाक्सी खरिद गरी स्थानिय ठाउमै स्वारोजगार बनेर कार्य गर्ने बताउनु भयो ।








