पुनर्वास– कंचनपुरको तीन पालिकाका नागरिक दुई साता देखि नागरिकता प्राप्त गर्नबाट बन्चित भएका छन् । फागुन १ गते ईलाका प्रशासन कार्यालय त्रिभुवनबस्तीका कार्यालय प्रमुख डम्बर बहादुर खड्काको जिम्मेवारीको समयावधि सकिएपछि गृह मन्त्रालयले जिम्मेवारी थप नगरिदिदा कंचनपुरको पुनर्वास, बेलौरी र लालझाडीका नागरिक नागरिकता प्राप्त गर्नबाट बन्चित भएका हुन् । लामो समय देखि ईलाका प्रशासन जस्तो कार्यालयमा दैनिक प्रवाह हुने सेवा पुर्ण रुपमा ठप्प हुँदा समेत वैकल्पिक व्यवस्था गर्न नसक्नु निकै लज्जास्पद भएको पुनर्वासका स्थानीय रामबहादुर तामाङले बताए ।

यस विषयमा जिल्ला प्रशासन कार्यालय कंचनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीसंग बुझ्दा प्रमुखको जिम्मेवारी पाएका खड्काको समयावधि गृहले नबढाउदा समस्या आएको जानकारी दिए । जिल्लामा कर्मचारीको अभाव छ । गृहले समयावधि नबढाए अर्को हप्ता सम्म कर्मचारी पठाउने सिडियो अधिकारीको भनाई छ । तर सिडियोको भनाई नागरिकको समस्या विपरित देखिएको छ । प्रशासन जस्तो निकायमै कर्मचारीका कारण सेवा पूर्ण रुपमा प्रभावित हुनु सिडियोको गैरजिम्मेवारी भएको स्थानीयहरुको आरोप छ ।

जिम्मेवारी खोसिएपछि एक दिनका लागि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा कार्यरत प्रशासकीय अधिकृत उद्धव सिँह कार्कीलाई त्रिभुवनबस्तीको जिम्मेवारीमा खटाईएपनि अर्को दिनबाट पूर्ण रुपमा सेवा ठप्प हुन गएको थियो । तर यता नागरिकताकै लागि प्रत्येक दिन कार्यालयमा पुग्ने चालिस जना भन्दा बढि व्यक्तिहरु सास्ती पाईरहेका छन् । यस विषयमा जनप्रतिनिधिहरुको चासो पनि कम भएका कारण सास्ती खेप्नु परेको सेवाग्राहीहरुको दुखेसो छ ।










