समुदाय स्तरका अपेक्षा समेट्न समुदायमा कांग्रेस अभियानको प्रारम्भ

महेन्द्रनगर : समुदाय स्तरका अपेक्षा समेट्नका लागि समुदायमा कांग्रेस अभियानको प्रारम्भ गरिएको नेपाली कांग्रेसकी केन्द्रीय सदस्य शुशिला मिश्र भट्टले बताइन् । नेपाली कांगेसले आजदेखि सञ्चालन गरेको समुदायमा कांग्रेस अभियान अन्र्तगत केन्द्रीय प्रतिनिधिको रुपमा कञ्चनपुर पुगेकी केन्द्रीय सदस्य भट्टले पत्रकारहरु संगको छलफलमा यस्तो बताएकी हुन् । शहिद दिवसको अवसर पारेर नेपाली कांग्रेसले देशव्यापी रुपमा आजदेखि ‘समुदायमा कांग्रेस अभियान’ को प्रारम्भ गरेको छ । उक्त अभियानका लागि केन्द्रीय प्रतिनिधिका रुपमा कञ्चनपुर पुगेकी केन्द्रीय सदस्य भट्टले जनस्तरका अपेक्षा, सेवा प्रवाह र पार्टीको नीति निर्माणमा समेत उल्लेखनीय सुझाव संकलनका लागि समुदायमा कांग्रेस अभियानको थालनी गरिएको बताइन् । पछिल्लो पटक सम्पन्न स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन पश्चातको झण्डै दुई वर्षको अवधिमा समुदाय स्तरमा कसरी सेवा प्रवाह भइरहेको छ ? सेवाग्राहीले कसरी त्यसलाई ग्रहण गरिरहेका छन् ।  र समुदाय स्तरमा आगामी अपेक्षाहरु के–के हुन सक्छन भन्ने मूल ध्येय सहित नेपाली कांग्रेसल समुदायमा कांग्रेस अभियान थालिएको उनले बताइन् ।

‘हामीले कसरी सेवा पाइरहेका छौं ? आगामी हाम्रा अपेक्षाहरु के–के हुन ? उम्मेद्वारहरुलाई निर्वाचित गर्दाका बखत हाम्रा के–के अपेक्षाहरु थिए ?’ केन्द्रीय सदस्य भट्टले भनिन्, ‘समुदायका जनताहरुका कति अपेक्षाहरु पुरा हुँदैछन ? लगायत स्थानीय, प्रदेश र संघ सरकारलाई अझै कसरी चुस्तदुरुस्त बनाउन सक्छौं, जस्ता कुराहरुको सुझाव एवं राय संकलन पनि यो अभियानबाट हुन्छ ।’ फागुन ७ गते देखि नेपाली कांग्रेसको महासमिति बैठक प्रारम्भ हुँदैछ । जसलाई पार्टीको नीति अधिवेशन पनि भनिन्छ । अघिल्ला वर्षहरुमा पार्टीको नीति बनाउँदा जिल्लाबाट छनौट गरिएका महासमिति सदस्यहरुले ल्याएका अर्थात लगेका कुराहरु छलफलबाट नीतिमा राखिने गरिएको भएपानि यो वर्षदेखि त्यति मात्रै नभएर यो अभियान मार्फत वडा÷वडाबाट संकलित राय–सुझावका माध्यमबाट नीति तय गरिने केन्द्रीय सदस्य भट्टले बताइन् । हरेक तह तप्काको समुदाय, हरेक समुदायमा आवद्ध व्यक्तिहरु, त्यो ठाउँको अनेक विषयका विज्ञ व्यक्ति, सरोकारवाला सबैको कुराहरु समुदायमा कांग्रेस अभियानले समेट्ने उनले बताइन् । समुदायमै समाधान गर्न सकिने समस्याहरुको त्यहि समाधान खोज्ने र अत्यकुराहरु लेखाङ्कन गरेर नीतिका लागि लैजाने समेत उनले बताएन् ।

समुदायमा कांग्रेस अभियानमा खुल्ला छलफल, निश्चित व्यक्तिहरु समक्ष छलफल, ‘फोकस डिस्कसन’ समाजका लागि योगदान पुर्याएका पुराना तथा अग्रज व्यत्तिहरुको घर–घरसम्मै पनि पुगेर भेटघाट गर्ने र उनका कुराहरु लिने पनि कार्यक्रमको रुपरेखा रहेको केन्द्रीय सदस्य भट्टले बताइन् । आज माघ १६ गतेदेखि सुरु भएको समुदायमा कांग्रेस अभियान माघ २४ गते सम्म चल्ने छ । कांग्रेसले यो कार्यक्रम देशभरका ६ हजार ७ सय ४३ वटै वडाहरुमा एकसाथ प्रारम्भ गरेको हो । कञ्चनपुरका ९२ वटै वडाहरुमा पनि आजदेखि उक्त कार्यक्रम सञ्चालन भएको पार्टी उपसभापति मिन बहादुर सिंहले बताए । जिल्लामा एक केन्द्रीय प्रतिनिधि शुशिला मिश्र भट्ट सहित कञ्नपुरका तिनै निर्वाचन क्षेत्रका प्रदेश (क) (ख) लगायत वडाहरुमा समेत प्रतिनिधि तोकिएको छ । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिले जिल्लाको निर्वाचन क्षेत्र नं. ३ (क) मा कञ्चनपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र ३(क) दिवाकर पाण्डेय, ३(ख) कृष्णप्रसाद पाठक, निर्वाचन क्षेत्र नं.२(क) प्रभा भट्ट, २(ख) ज्ञानेन्द्रबहादुर सिंह, निर्वाचन क्षेत्र नं. १(क) कृष्णबहादुर तामाङ र १(ख) चमेली तामाङलाई प्रतिनिधि तोकेको छ । त्यस्तै वडामा प्रत्येक वडा सभापतिहरुलाई नै जिम्मेवारी सहित नेपाली कांग्रेसको समुदायमा कांग्रेस अभियान सञ्चालनमा आएको छ ।

ताजा समाचार