कञ्चनपुर : माघी पर्वको कञ्चनपुरका थारु गाउँमा रौनकता छाएको छ । रातभर आगोको धुनी जगाई डम्फु र मादलको तालमा नाचेका थारु समुदायले माघ महिनाको पहिलो दिन आज विहानै उठेर नदी तलाउ लगायत पानीका प्राकृतिक श्रोतहरुमा नुहाएका छन । जाग्रामा नबसेकाहरुलाई विहानै उठनेले गाउँका अरुलाई ‘माघ नहाई नदीया, तलवामे चलो रे’ भन्दै घर घरमा पुगेर उठाउने कार्य गरी हुल बाँधेर नुहाउन नदीमा गएको रुप सिंह डगौराले बताउनु भयो । “माघको पहिलो दिन विहानै सामुहिक रुपमा नुहाउने चलन पुरानै हो” उहाँले भन्नु भयो, “यसलाई जिवन्त राख्ने कार्यमा बुढापाकाहरु लागेका छन ।” नदीमा पैशा चढाउदै कुल देवतालाई स्मरण गर्दै नुहाउने गरिएको जनकलाल डगौराले बताउनु भयो ।


नदीको किनारामै गाउँका अगुवाहरुले ढुङ्गाको देवता स्थापीत गर्ने गर्दछन । नुहाउन गएका सबैले श्रद्धापूर्वक शिर निहुराएर ढोग्न चलन रहेको उहाँको भनाई रहेको छ । घरबाटै बनाएर लगेको चामलको पिठोको टिका बनाई सबै जनाले लगाउने गरेका छन । घरमा पुगेर निश्राउको पूजा गरी घरका मान्यजनलाई ढोग सलाम गरी परिकार महिलाहरुले पस्कदै घरपरिवारका व्यक्ति सहित पाहुना लाग्न आएकालाई खान दिने गरेका छन । यो क्रम दिनभर चल्ने गर्दछ । दिउसो पख् परिकार खाँदै छोक्रा, मघौटा लगायतका नृत्यको आनन्द लिन पनि पाईन्छ । गाउँ गाउँमा नृत्यको रौनकता छाएको हुन्छ । नाच्नेहरुले आँखाको परेलाले पैशा उठाउने गर्दछन । जसमा गाउँका बासिन्दाले पैशा लुटाएर मनोरञ्जन लिने गर्दछन । घरको काम सकेका महिलाहरु पनि फुर्सदिला बनेपछि खानपान र नाचगानको कार्यमा सहभागी हुने गर्दछन । माघ महिना देखि थारु समुदायको नयाँ वर्ष शुरु हुन्छ ।


यस अवसरमा नयाँ कार्यको थालनि गर्ने चलन थारु समुदायमा रहेको छ । माघ महिना शुरु हुन एक दिन अगावै थारु समुदायका व्यक्तिहरु विहानै देखि सुगुँरको मासुको जोहो मिलाउनमा व्यस्त भएका थिए । गाउँ गाउँका टोल टोलमा सुगुँर ढालिएका थिए । सुगुँर ढाल्ने कार्यलाई थारु समुदायले जिता मर्ना भन्ने गर्दछन । एक महिना देखिनै थारु समुदायका अगुवाहरुले सुगुँरको व्यवस्था मिलाएका हुन । ” हिजो विहानै सुगुँर ढाल्यौं” रुपसिंह डगौराले भन्नु भयो, “दिनभर पकुवा बनाएर गाउँका अगुवा संग बसेर अन्तीको चामलबाट बनेको जाँड संग खायौं ।” माघ महिना लागेपछि कुनै पनि जनावरको बध गर्नु नहुने जनविश्वासका कारण माघ लाग्न एक दिन अगावै थारु समुदायले सुगुँर, कुखुरा,भेडा, बाख्रा लगायत ढालेर गच्छे अनुसार मासु खरिद गरी माघीका लागि जोहो मिलाउने गरेका छन । माघीमा आउने पाहुनकाका लागि ढिक्री, सिन्की, खेरिया बनाउने कार्य संगै तरुल र गैंजी उसिन्ने कार्यमा महिलाहरु पनि बेफुर्सदिला भएका छन । कृष्णपुर नगरपालिका २ बाणिका अस्पती चौधरी माघीमा पाहुना लाग्ने भएकाले विहानै नुहाएर परिकार बनाउमै खटिएको बताउनु हुन्छ ।


विहानै देखि माघीको चहपहल शुरु हुने भएकाले ढिक्रि, सुगुँर, कुखुराको मासु पकाउने, रोटी बनाउने कार्यमा लागेको उहाँले बताउनु भयो । रातभर आगोको धुनी जगाई मादल, डम्फु संगै नाच्ने गाउने,खाने कार्यक्रम गरिएको छेदालाल डगौराले बताउनु भयो । कोराना महामारीका कारण विगतका दुई तीन वर्ष माघी लगायतका चाडपर्व उल्लासपूर्वक बनाउन नपादा न्याश्रो लागेको उल्लेख गर्नु हुदै उहाँले यस वर्ष जमेर रमाईलो गरी माघी मनाउने सु सार गाउँ भरीनै रहेको बताउनु भयो । साँझ पख् ढकियामा चामल, दाल, खुर्सानी, नुन सहित राखिएको निश्राउको पूजा गरी घरमा बनेका परिकार दिदि बहिनीलाई छुट्टयाएर राख्ने चलन थारु समुदायमा रहेको छ । माघीमा भेटन नआएका दिदि बहिनीको घरमै पुगेर माघको कोेशेली दिने कार्य थारु समुदायले परम्परागत रुपमा गर्दैै आएका छन । माघीकै अवसरमा थारु समुदायले खोजनी बोझनीको कार्य पनि गर्दछन । यस अवसरमा गाउँको नेतृत्व गर्ने वडघर, गुरुवा, केसौका, चौकिदार लगायत चुन्ने कार्य गरिन्छ । वडघरले गाउँमा विवाह, बाटोघाटो बनाउने लगायतका नयाँ कार्यको शुरुवात पनि गर्दछन ।










