मन्जु जोशी / कञ्चनपुर : आइतबार पुष १५ गतेका दिन दार्चुला, बैतडी सहित सुदूरपश्चिम प्रदेशमा ठुली रात अर्थात् पुसे पन्ध्र हर्षोल्लासका साथ मनाएको छ। हरेक वर्ष पुष १५ गतेलाई सुदूरपश्चिममा बिशेष महत्वका साथ मनाइदै आएको पुषे १५ यस वर्ष पनि धुमधामका साथ मनाइएको हो ।

ठूली रातका रूपमा समेत मनाइने पुसे पन्ध्रका अवसरमा गाउँका सबै जना एक ठाउँमा जम्मा भएर रातभर देउडा खेल्ने,आगो तापेर जाग्राम बस्ने, दन्त्यकथा,आइनै बातै सुन्ने सुनाउने,तरुल, पिँडालु, सखरखण्ड, कन्दमूल, फर्सी लगायतका मीठा खानाका परिकार बनाएर खाने प्रचलन छ। पुसे पन्ध्रमा गाउँका सबै एक आपसमा भेटघाट गर्ने र कहानी (आइनै बातै) सुन्ने तथा सुनाउने गरिन्छ। कन्दमूल जस्ता खानेकुरा खाँदा चिसो समयमा शरीर फूर्तिलो हुने र तागत बढ्ने स्थानीय संस्कृतिका जानकारहरु बताउँछन्।

सुदूरपश्चिममा रातभर विभिन्न पौराणिक र लोक कथा, गाउँखाने कथा सुन्ने सुनाउने साथै गीत संगीतको समेत भरपुर आनन्द लिने पर्वका रुपमा यसलाई लिइन्छ। पछिल्लो समय आइनै बातै जान्ने व्यक्तिको अभाव र युवापुस्तामा लोक संस्कृति पुस्तान्तरण हुन नसक्दा यसको मौलिकता हराउन थालेको बुढापाकाहरु बताउँछन्।

पुष १५ गतेका दिन गुरुङ समुदायले नयाँ वर्षको रुपमा मनाउदै आएको तमु ल्होसार पर्व पनि रहेकोले गुरुङ समुदायले पनि हर्षोउल्लाका साथ भव्यरुपमा तमु ल्होसार पर्व मनाएका छन् ।










