कञ्चनपुर : पूर्व पश्चिम राजमार्ग संगै जोडिएको शुक्लाफाँटा नगरपालिका ११ कलुवापुर बजार क्षेत्रमा वर्षेनी हुने डुवान निराकरण गर्नका लागि नाली निर्माणका लागि पहल गरिने भएको छ । कलुवापुर बेलौरी सडक खडक खण्डको झण्डै तीन किलोमिटर क्षेत्रको दुवै तर्फ पानी निकासका लागि नाली निर्माण गर्ने सर्वदलिय बैठकले निर्णय गरेको छ । वडा अध्यक्ष शेर बहादुर साउदको पहलमा आयोजना गरिएको सर्वदलिय बैठकका सहभागीहरुले सडक क्षेत्रको अतिक्रमण हटाई नाली निर्माण गर्नका लागि एकवद्धता जनाएका हुन । सुदूरपश्चिम प्रदेश सभाका सदस्य ओमविक्रम भाटले नाली निर्माणका लागि बजेटको व्यवस्थापन गर्ने अश्वासन दिनु भएको छ ।

“बजार क्षेत्रको वर्षौ देखिको डुवानको समस्या समाधान गर्नका लागि बजेटको व्यवस्थागर्ने प्रतिवद्धता व्यक्त गर्दछु” उहाँले भन्नु भयो, “कार्य अगाडी बढाउनोस जसरी पनि बजेटको व्यवस्था मैले मिलाउ छु ।” नगर प्रमुख रण बहादुर महराले सडकको दायाँ वाँया तर्फको सडक अतिक्रमण हटाउने जिम्मा आफुले लिने बताउनु भयो । “विगतमा पनि अतिक्रमण हटाउने निर्णय भएका छन” उहाँले भन्नु भयो, “त्यसलाई कार्यान्वयन गर्छौ ।” नगर उप प्रमुख कल्पना पन्तले विकासका कार्यमा सबैको सकारात्मक भूमिका हुनु पर्ने बताउनु भयो । पूर्वाधार विकास कार्यालयका प्रमुख योगेन्द्र बहादुर अधिकारीले बजेटको व्यवस्था गरिए सडकको दायाँ बाँया दुवै तर्फ नाली निर्माण गर्न सकिने बताउनु भयो ।

“बजेटको व्यवस्था गरिए पनि तत्कालै नाली निर्माण गर्न सकिदैन” उहाँले भन्नु भयो, “बजेट कार्यान्वयन गर्न प्रकृयामा जानु पर्छ, प्रकृयामा जाँदा समय लाग्छ ।” सडक कालोपत्रे गर्ने कार्यका लागि ठेक्का सम्झौता भैसकेकाले चिसो हटने वितिकै कार्य अगाडी बढने उहाँको भनाई थियो । त्यस अघि वेस र सव वेस राख्ने कार्य अगाडी बढाईने उहाँको भनाई थियो ।
कलुवापुर बजार व्यबस्थापन समितिका निवर्तमान अध्यक्ष लक्ष्मण नाथले बैठक र अवलोकनको कार्य मात्रै गरेर हुने उल्लेख गर्नु हुदै समस्या समाधानका लागि कटिवद्ध भएर लाग्नु पर्ने बताउनु भयो । “वर्षातका बेला पानीले बजार क्षेत्र डुवानमा पर्छ” उहाँले भन्नु भयो, “हिउद लगायतको सुख्खा याममा सडकमा उडने धुलोका कारण हैरान छौं, यसको निराकरण छिट्टै होस ।” वडा अध्यक्ष शेर बहादुर साउदले बजार क्षेत्रको पानी निकासका लागि पूर्व पश्चिम राजमार्गमा कल्भर्ट चौडा गर्ने कार्य निकै पहल पछि अगाडी बढाई सकेको उल्लेख गर्नु हुदै छिट्टै कलुवापुर बेलौरी सडक खण्डमा रहेको बजार क्षेत्रमा नाली निर्माणका लागि पहलभै रहेकाले निर्माण गरि छाडने बताउनु भयो । बैठकमा सहभागी स्थानिय बासिन्दाले निष्पक्ष तरिकाले सडकको क्षेत्रकाधिकार अनुसार नाली निर्माण गर्नु पर्नेमा जोड दिनु भएको छ ।

बैठकमा दीर्घकालीन रुपमा समस्या समाधान गर्नका लागि कलुवापुर बजार देखि दक्षिण चितौरा नाला सम्म सडक मापदण्ड अनुसार पक्कि ढल(नाली) निर्माण गर्न भौतिक पूर्वाधार विकास कार्यालय कञ्चनपुर सडक डिभिजन कार्यालय कञ्चनपुरमा लेखि पठाउने निर्णय गरिएको छ ।
यसैगरी, गत असार २८ गते नगर प्रमुखको संयोकत्वमा बसको निर्णयलाई कार्यान्वयन गर्ने निर्णय गरिएको छ । पूर्वाधार विकास कार्यालय द्वारा कार्यान्वयन भैरहेको बेलौरी कलुवापुर नालईल बुडर सडक खण्डको बन्साहा कलुवापुर दोमिलामा सडक ऐन २०३१ को दफा ३ मा राजमार्ग, सहायक मार्ग, जिल्लामार्ग र शहरी मार्गको हकमा सडकको केन्द्र रेखादेखि दायाँ बायाँ दुबै तर्फ ३१ मिटरमा नबढाई सडक सीमा तोक्ने व्यवस्था रहेको छ । सोही व्यवस्था अनुसार सडकको क्षेत्र कायम गरी सडक कालोपत्रे र ढल निर्माण गरिने बताईएको छ ।










