कञ्चनपुर, : वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरुलाई सीप सिकाई व्यवसाय उन्मुख गराउनका लागि शुक्लाफाँटा नगरपालिकाले तथ्याङ्क सङ्कनको कार्य शुरु गरेको छ ।
वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरुलाई स्वदेशमै रोजगारी प्रदान गर्नका लागि वडा कार्यालय र नगरपालिकाको रोजगार शाखा मार्फत तथ्याङ्क सङकलनको कार्य हुन थालेको हो ।
स्वदेशमानै उद्यमशिलता विकास गर्न सक्ने गरी तालिम प्रदान गर्नका लागि तथ्याङ्क सङ्कलनको कार्य अगाडी बढाईएको नगरपालिकाको रोजगार शाखाका प्रमुख कृष्णराज भट्टले बताउनु भयो ।

“तथ्याङक सङकलनका लागि नगरपालिकाका १२ वटै वडामा परिपत्र गरि सकेका छौं” उहाँले भन्नु भयो, “वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरुले वडामा उपलव्ध गराईएको फाराममा नाम, वैदेशिक रोजगारीमा गएको मुलुक, सिकेको सीप, ठेगाना र सम्पर्क नम्बर, चाहिने सीप बारे विवरण भर्नु पर्ने छ ।”उहाँका अनुसार विवरण सङ्कलनको कार्य गरि सकिए पछि त्यसकै आधारमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्र्तगतको वैदेशिक रोजगार वोर्डको सचिवालयले सेवाप्रदायक मार्फत सीप मुलुक तालिमका लागि छनौट गरिने छ । वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिको सीप परीक्षण तथा प्रमाणीकरण, श्रम बजारको आवश्यकतामा आधारित व्यवसायीक संगै व्यवस्थापकीय सीपमूलक तालिम प्रदान, परम्परागत रुपमा सञ्चालित पेशाको आधुनिकीकरण तथा बजारको माग, व्यक्तिको क्षमता अनुरुप रोजगारीको व्यवस्थागर्न सहजीकरण गरिने उहाँको भनाई रहेको छ ।
यो संगै रोजगाारीका क्रममा आर्जन गरेको पूँजी, ज्ञान, सीप र अनुभवको सदुपयोग गर्दै त्यस्ता व्यक्तिको वित्तीय साक्षरता र पहुँचमा बृद्धि गर्न प्राविधिक र व्यवस्थापकीय रुपमा सहयोग गरी एकल वा समुहमा आधारित स्वउद्यममूलक कार्यक्रम सञ्चालनको व्यवस्था गरिने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टिकेन्द्रराज भट्टले बताउनु भयो ।

गत आबमा नगरपालिकामा विदेशबाट फर्केका ९० जनाको विवरण सङकलन गरिएको थियो । जसमा भारत, मलेशिया, साउदी अरव,ओमान, बहराईन,कतार, दुवई,युएई, रोमानिया लगायतका देशबाट फर्केका व्यक्तिहरु रहेका थिए ।
विवरणमा समेटिएका व्यक्तिहरुले गारमेन्ट, कृषि, सवारी चालक, सरसफाई, डिजिटल मार्केटिङ, रेष्टुरेण्ट अपरेटर,डकर्मी, सिलाईकटाई, फर्निचर मेकर, स्काफ फोल्डीङ, पेन्टीङ, प्लम्बीङ, मार्वल, फुड प्याकेजिङ,पिओपी, सेफ, पशुपालन सम्बन्धी तालिमको माग गरेका थिए । तथ्याङक सङ्कलन गरिएका मध्ये २० जनालाई सीपमूलक सिलाईकटाई तालिम दिई व्यवसाय उन्मुख गराईएको प्रमुख प्रशासकिय अधिकृत भट्टको भनाई रहेको छ । चालु आबमा पनि मागका आधारमा सीपमूलक तालिम सञ्चालन गरिने उहाँको भनाई रहेको छ ।











