कञ्चनपुर : परराष्ट्रमन्त्री एनपी साउदले हमास समुहको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीको रिहाईका लागि सरकार लागि परेको बताएका छन । शनिबार शुक्लाफाँटा नगरपालिका नवनिर्मित भवनको उद्घाटन गर्दै मन्त्री साउदले कुटनैतिक पहल गरेर नेपाली विद्यार्थी जोशीको रिहाई गरिने बताएका हुन ।
परराष्ट्रमन्त्री साउदले विपिन जोशीको रिहाईका लागि विभिन्न अन्र्तराष्ट्रिय मुलुक सहितका पक्षसंग पहल भईरहेको बताए । ‘विपिन जोशीको सकुसल रिहाईका लागि मैले कतार, अमेरिकी सरकारका विदेशमन्त्रीसंग पनि पटक पटक पहल गरेको छुँ, ‘उनले भने, ‘अन्र्तराष्ट्रिय रेडक्रसपनि लागेको छ , आज मात्रै मैले ईजरायल स्थित नेपाली राजदुतासंग समेत छलफल गरेको छु ।’ अमेरिकी सरकारले आगामी २१नोभेम्बरमा आफ्ना देशका नागरिकको उद्दारका क्रममा विपिन जोशीको रिहाईको समेत कुराकानी गरेको बताए । ईजरायल सरकारसंग सम्पर्क गर्दा विपिन जोशी उनलाई बन्धक बनाएर गाजा क्षेत्रमा सुरक्षित राखेको जानकारी आएको बताउँदै मन्त्री साउदले सकुसल रिहाईका लागि अन्र्तराष्ट्रिय सम्बन्ध निकायसंग अनुरोध गरेका छन ।
शनिबार महेन्द्रनगरमा विपिन जोशीका आमाबाबुले मन्त्री साउदलाई भेटेरै विपिन जोशीको यथाशिघ्र रिहाईका लागि माग अघि सारेका थिए । मन्त्री साउदले कञ्चनपुरका आरक्षपीडितको समस्या समाधानका लागि अर्धन्यायिक आयोग मार्फत समस्या समाधान गरिने बताए । ‘आरक्षपीडितलाई जमिन वा मुआब्जा दिएरै भएपनि समस्या समाधान गर्न सरकार लागि परेको छ, ‘उनले भने, ‘अब पीडितलाई धेरै पर्खाउनु हुँदैन ।’ मन्त्री साउदले क्षेत्रको विकासका लागि आफ्नो तर्फबाट पहल गर्ने बताउँदै विकासका लागि राजनीति गर्न नहुने धारणा राखे । मन्त्री साउदले झलारी बजारमा ढल तटबन्ध निर्माणका लागि आवश्यक पहल गर्ने बताए ।