राजेन्द्रप्रसाद पनेरु/ कञ्चनपुर : दुई दशक देखिको जग्गा अंश सम्बन्धीको विवाद दुई दिनमै मिलापत्र भएपछि शुक्लाफाँटा नगरपालिका १२ देखतभूली अग्लीपट्टीका इतवरीया राना निकै खुसि भएका छन । नगरपालिकाको न्यायीक समितिमा रानाको उजुरी आएको दुई दिनममै अंश पाउने गरी विवादको टुङगो लगाइए पछि राना खुसि भएका हुन । झण्डै तीस वर्ष अघि राना परिवार बस्दै आएको दुई विघा दर्ता भएको जग्गा र तीन विघा ऐलानी जग्गा दोदा नदीले कटान गरी बगाएको थियो ।

“जग्गा कटान भएको दुई दशक पछि नदीले बहाव परिवर्तन गर्दै जग्गा भएर बग्न छाडेपछि चार जना बुवाको अंश लाग्ने जग्गामा तीन जना बुवाका छोराहरुले खेती गर्न थालेका थिए” रानाले भन्नु भयो, “मैले अंश माग्न खोज्दा गालीगलौज र कुटपिट गर्न आउन थाले, त्यस पछि अंशकै लागि नगरपालिकाको न्यायिक समितिलाई गुहारे ।” दुवै पक्षलाई संगै राखेर न्यायपालिकाको इजलासमा छलफल बहस भयो । विगतका कटुतालाई बिर्षदै चार वटै बुवाका छोराहरु बन्धा, सन्धा, सुकराम बसेर अंश दिने सहमती गरेको रानाले बताउनु भयो । “वर्षौ देखि आफना दाजुभाई संग जग्गाकै लागि बोलिचाली बन्द गरेका थियौं” उहाँले भन्नु भयो, “न्यायपालिकाको पहलमा भाईहरु संगको सम्बन्ध स्थापित भएको छ, अंशबाट बञ्चित थिए, त्यो पनि पाए ।” भोगचलन गर्दै आएको ऐलानी जग्गाबाट छ कठ्ठामा भोगचलन गर्न दिने गरी सहमती गरिएको नगरपालिकाको न्यायीक शाखाका कर्मचारी सुरेन्द्रप्रसाद भट्टले बताउनु भयो । “राना बन्धुहरुको वर्षौ देखिको जग्गा विवाद रहेको थियो” उहाँले भन्नु भयो, “पक्ष विपक्षलाई संगै राखेर उजुरी आएको दुई दिनमै छलफल गरी सौहार्द रुपमा विवाद टुङग्याएका छौं ।”
वडा अध्यक्ष, न्यायिक समितिका संयोजक, जग्गा नापजाँच गर्ने अमिनको रोहवरमा फिल्डमा गएर जग्गा बाँडफाँड गरिने भएको उहाँको भनाई रहेको छ । स्थानिय सरकार सञ्चालन ऐन २०७४ को दफा ४७ (२ )को ङ अनुसार न्यायिक समितिको अधिकार क्षेत्र भित्र पर्ने भएकाले आइन्दा दुवै पक्षले मिलेर बस्ने, एक अर्कालाई गालीबेज्जती नगर्ने सम्बन्धमा दुवै पक्षलाई न्यायीक समितिमा उपस्थीत गराई छलफल गराई मिलापत्र समेत गरिएको उहाँले उल्लेख गर्नु भयो ।
नगरपालिकाका न्यायपालिकाका संयोजक तथा उप प्रमुख कल्पना पन्तका अनुसार रानाका जस्तै न्यायपालिकामा ज्यालामजदुरी, रकम लेनदेन, जग्गा सम्बन्धी, अंश, बाटो, कुुलो, खानेपानी सम्बन्धीका २४ वटा विवादमा चालु आबमा मिलापत्र गरिएको छ । दुई वटा विवादका उजुरी विचाराधिन अबस्थामा रहेका छन । न्यायपालिकामा छ वटा नयाँ विवाद दर्ता भएका छन । दुई वटा विवाद गत वर्षबाट सरि आएको उहाँको भनाई रहेको छ । न्यायपालिकामा आएका सबै विवादको पक्ष विपक्षलाई संगै राखेर जितजितको भावना राखेर मिलापत्र गराईदै आएको नगर उप प्रमुख पन्तको भनाई रहेको छ ।
