केशव थापा/बेलडाँडी : कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीमा भलिबल प्रतियोगिता शुरु भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ शनिबारदेखि बेलडाँडीमा भलिबल प्रतियोगिता शुरु भएको हो । प्रगति एकता समाजको आयोजनामा बेलडाँडी गाँउपालिका १ सिद्धचोकमा खुला भलिबल प्रतियोगिता शुरु भएको जनाईएको छ ।
प्रगति एकता समाजका अध्यक्ष शंकर दत्त भट्टले शुभ दिपावलीको अवसरमा खेलकुद क्षेत्रको विकासका लागि प्रतियोगिता आयोजना गरिएको बताए । प्रतियोगिता उद्घाटन समारोहका प्रमुख अतिथि समेत रहेका बेलडाँडी गाँउपालिका अध्यक्ष हरिशचन्द्र रानाले प्रतियोगिताले थप खेलकुद क्षेत्रको विकास हुने बताए । गाँउप्रमुख रानाले आफ्नो तर्फबाट खेलकुद विकासका लागि सहयोगको अपेक्षा राखे । जिल्ला खेलकुद समिति कञ्चनपुरका उपाध्यक्ष कैलाशचन्द्र गिरीले ग्रामिण भेगको खेलकुद प्रतियोगिताका लागि सक्दो सहयोगको बचन दिए । प्रतियोगिता उद्घाटन समारोहकै दिन आयोजक (बी) र निरौला फाउण्डेसन टिमविच प्रतियोगिता भएको छ ।
निरौला फाउण्डेसन टिमले आयोजक बिलाई लगातार (२–०)सेटले हराउँदै विजय यात्रा शुरु गरेको छ । प्रतियोगितामा १६टिमको सहभागिता रहेको छ । प्रतियोगिताका विजेता टिमलाई ५१ हजार, उपविजेता टिमलाई २५हजार एकसय नगद सहित ट्रफि मेडल प्रदान गरिने छ । प्रतियोगिता सिद्धनाथ आधारभूत विद्यालयको प्राङगणमा भईरहेको छ ।