भुटानी शरणार्थी बनाएर अमेरिका पठाउनेहरुबाट मुलुक चल्दैन : मेटमणि चौधरी

दाङ : नेकपा एकीकृत समाजवादीका संसदीय दलका प्रमुख सचेतक एवं संघीय सांसद मेटमणि चौधरीले नेपाली जनतालाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउनेहरुबाट मुलुक चल्न नसक्ने बताएका छन् । एकीकृत समाजवादीको घोराही नगर कमिटीद्धारा विहिबार सोनपुर भकारेमा आयोजित तिहार मिलन तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै सांसद चौधरीले उक्त धारणा राखेका हुन् ।
ठुला पार्टीहरुको हालत लाजमर्दाै भएको बताउँदै उनले भने, ‘नेपाली जनतालाई शरणार्थी बनाएर अमेरिका बेच्ने, सरकारी जग्गालाई व्यक्तिको नाममा गराएर करोडौँ घुस खाने कसले गर्याे ? विचार गर्नुस् त ? सेटिङ मिलाएर देश लुट्ने, विचौलियाका पक्षमा खुलेआम भाषण गर्ने भनेपछि यस्ता व्यक्तिबाट मुलुकले केही आसा गर्ने कुरै हुदैन ।’ देशले काँचुली फेर्ने मौका पाएको बेला केपी ओलीले सत्ताको चरम दुरुपयोग गरेको आरोप लगाउँदै पूर्व मन्त्री समेत रहेका चौधरीले थपे, ‘नेकपालाई बचाउन सकेको भए, सरकार राम्रोसँग संचालन गर्न केपी ओलीले सकेको भए आज यो मुलुक धेरै अगाडि बढिसक्थ्यो ।
जनतामा उत्साह हुन्थ्यो । कम्युनिष्ट हुनुमा गर्व हुन्थ्यो ।’ एमाले नेतृ शान्ता चौधरीको गाउँ रहेको उक्त क्षेत्रबाट करिब दुई सय स्थानीय एकीकृत समाजवादीमा प्रवेश गरेको एकीकृत समाजवादी दाङका प्रचार विभाग प्रमुख सूर्य बिसीले जानकारी दिए ।

ताजा समाचार