झलारी : पोषणमा सुधार ल्याउनका लागि शुक्लाफाँटा नगरपालिकाले सुत्केरी भएका महिलालाई आज पोषणयुक्त आहार वितरण गरेको छ । झलारी स्वास्थ्य चौकीमा चालु आबको हाल सम्म सुत्केरी भएका ५१ जना महिलालाई जनही एक किलो ध्यू र एक क्रेट अण्डा निःशुल्क रुपमा वितरण गरेको हो । नगर उप प्रमुख कल्पना पन्त र स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष लाल बहादुर ऐरले सुत्केरी भएका महिलाहरुलाई ध्यू र अण्डा वितरण गर्नु भएको छ । सुत्केरी भएका ५१ जना महिलालाई जनही रु एक हजार पाँच सय बरावरको ध्यू र अण्डा वितरण गरिएको स्वास्थ्य चौकीका प्रमुख हिरा सिंह ढुङगालले बताउनु भयो ।
“सुत्केरी हुने महिला र शिशुको स्वास्थ्यमा सुधार ल्याउनका लागि पोषणयुक्त आहार वितरण गरेका छौं” उहाँले भन्नु भयो, “स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा सुत्केरी भएका महिलाहरुलाई तीन वर्ष देखि निरन्तर रुपमा पोषणयुक्त आहार वितरणको कार्य हुदै आएको छ ।” बर्थिङ सेन्टरमा सुत्केरी हुने महिलाहरुलाई पोषणयुक्त आहारको प्रयोग गर्नु पर्दछ भन्ने जानकारी दिईने गरिएकाले नगरपालिकामा कुपोषित बालबालिकाको सङख्या घटदै गएको नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टले बताउनु भयो ।
स्वास्थ्य चौकीले वितरण गर्दै आएको पोषणयुक्त आहारले आर्थिक रुपमा विपन्न परिवारका सुत्केरी भएका महिलाको पोषणमा सुधार ल्याउन सघाउ पुरयाएको उहाँको भनाई रहेको छ । उहाँका अनुसार तीन वर्षको अबधिमा स्वास्थ्य चौकीबाट एक सय ६० जना सुत्केरी भएका महिलालाई पोषणयुक्त आहार वितरणको कार्य हुदै आएको छ ।