धनगढी: सुदूरपश्चिम प्रदेश खेलमय बन्दै गएको छ। पहाडी जिल्ला हुँदै तराईका विभिन्न ठाउँमा खेलकुदका गतिविधि एकाएक बढ्ने क्रम देखिएको यो समयमा छैटौँ फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिता आयोजनाका लागि मिति घोषणा गरिएको छ।बुधबार आयोजक फारवेष्ट पशुपति युवा क्लबले पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको मिति घोषणाका साथ सार्वजनिक गरेको हो । छैटौँ संस्करण मङ्सिर २२ गतेदेखि २९ गतेसम्म धनगढी रङ्गशालामा हुने भएको छ ।
प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले २ लाख पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २५ हजार तथा विभिन्न विधाका उत्कृष्टले १५–१५ हजार रुपैयाँ पुरस्कार पाउने आयोजक फारवेष्ट पशुपति युवा क्लबका अध्यक्ष खेम रावतले बताए ।
प्रत्येक खेलको म्यान अफ द म्याचले पाँच हजार नगद पाउने छन् । सबै धनराशि जोडेर आठ लाख ७० हजार नगद पुरस्कार दिइने आयोजक फारवेष्ट पशुपति युवा क्लबले जनाएको छ ।धनगढी रङ्गशालामा आयोजना हुने प्रतियोगितामा १६ टिमको सहभागिता रहने क्लबका सचिव ललित मिश्रले जानकारी दिए । उनका अनुसार प्रतियोगिता आयोजनामा झन्डै ४९ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।