कञ्चनपुर : कञ्चनपुर क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य माननीय ज्ञानेन्द्र सिंह महताको विशेष पहलमा दोधाराचाँदनीमा निर्माणाधीन सुख्खा बन्दरगाह तथा दैजी–छेला औद्योगिक क्षेत्रको कामलाई गति दिने विषयमा आज उद्योग मन्त्रालयमा छलफल भएको छ। उद्योगमन्त्री गौरीकुमारी यादव, उद्योग सचिव नारायण दुवाडी तथा नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कम्पनी लिमिटेडका प्रतिनिधिसहितको छलफलमा कञ्चनपुरका यी दुई महत्वपूर्ण राष्ट्रिय आयोजनाको निर्माण तथा कार्यान्वयनमा देखिएका समस्या र समाधानका उपायबारे छलफल भएको हो।

छलफलका क्रममा सांसद महताले सरकारले रोयल्टीबापत तिर्नुपर्ने रकमको भुक्तानीमा ढिलाइ हुँदा दोधाराचाँदनीमा निर्माणाधीन सुख्खा बन्दरगाहको निर्माण कार्य प्रभावित हुन सक्ने भन्दै तत्काल भुक्तानी प्रक्रिया अगाडि बढाउन मन्त्रीसमक्ष आग्रह गर्नुभयो। महताले सुख्खा बन्दरगाह कञ्चनपुर मात्र नभई सुदूरपश्चिमको आर्थिक विकास, व्यापार विस्तार र रोजगारी सिर्जनाका लागि महत्वपूर्ण आयोजना भएकाले निर्माण कार्यमा कुनै पनि प्रकारको अवरोध आउन नदिन सरकार गम्भीर हुनुपर्ने बताउनुभयो।

त्यसैगरी, दैजी–छेला औद्योगिक क्षेत्रको कामलाई पनि आवश्यक प्रक्रिया पूरा गरी तीव्र गतिमा अगाडि बढाउन महताले आग्रह गर्नुभयो। उहाँले औद्योगिक क्षेत्र निर्माण भएपछि कञ्चनपुरमा उद्योग स्थापना, रोजगारी सिर्जना तथा स्थानीय उत्पादनको बजारीकरणमा महत्वपूर्ण योगदान पुग्ने भएकाले आयोजना कार्यान्वयनमा ढिलाइ गर्न नहुनेमा जोड दिनुभयो।
महताको आग्रहपछि उद्योगमन्त्री गौरीकुमारी यादवले सरकारले तिर्नुपर्ने रोयल्टीबापतको रकम एक महिनाभित्र भुक्तानी गर्ने गरी प्रक्रिया अगाडि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ।

साथै, दैजी–छेला औद्योगिक क्षेत्रको कामलाई समेत आवश्यक समन्वय गरी अगाडि बढाउन मन्त्री यादवले सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिनुभएको छ।
कञ्चनपुरको आर्थिक तथा औद्योगिक विकासका लागि महत्वपूर्ण मानिएका सुख्खा बन्दरगाह र दैजी–छेला औद्योगिक क्षेत्रको काममा देखिएका अवरोध हटाउन भएको यो छलफलपछि दुवै आयोजनाले गति लिने अपेक्षा गरिएको छ।










