डडेल्धुराको अमरगढी नगरपालिकाले सडक क्षेत्रमा पर्ने संरचना भत्काउँदै

डडेल्धुरा : डडेल्धुरा सदरमुकाममा अमरगढी नगरपालिकाले सडक क्षेत्रमा पर्ने संरचना भत्काउने कार्य सुरु गरेको छ । सोमवारदेखी बजार क्षेत्रमा सडकमा परेका संरचनालाई डोजर लगाएर भत्काउने काम सुरु भएको हो । घरधनीले मुआब्जा पाएको महिनौं पुगे पनि अटेरी गरेपछि अमरगढी नगरपालिकाले आफैले डोजर चलाउने भएको हो । सडकको क्षेत्राधिकारभित्रै पर्ने भौतिक संरचना र जग्गाको मुआब्जा व्यक्तिलाई वितरण गरिए पनि सडकको क्षेत्राधिकार खाली नगरिएका कारणसडकको क्षेत्राधिकार खाली गर्न नगरपालिकाले डोजर चलाउने भएको हो ।

त्यसका लागि अमरगढी नगरपालिका वडा नम्बर ५ का अध्यक्ष टंकबहादुर क्षेत्रीलाई संयोजक तोकिएको नगरपालिकाले जनाएको छ । बसपार्कबाट सडक क्षेत्र खाली गर्न सुरु गरिने बताइएको छ । अमरगढी नगरपालिकाले वडा कार्यालय र नगरपालिकाले पटकपटक आग्रह गर्दा पनि बेवास्ता भएको भन्दै अन्तिम पटकका लागि संरचना हटाउन सूचना जारी गरिएको थियो । १३ गते जारी सूचनामा ७ दिनभित्र संरचना हटाउन आग्रह गरिएको थियो । उक्त सूचनाको अवधि आइतबार सकिएको कारण आजदेखि डोजर चलाउने तयारी भएको हो ।

सदरमुकामको बागबजारदेखि रानीधारासम्मका घर तथा जग्गाको सम्पूर्ण मुआब्जा वितरण भइसकेको छ । सडक डिभिजन कार्यालय डोटीका अनुसार मुआब्जा वितरण गरेर महाकाली राजमार्गको नाममा लालपूर्जा पनि आइसकेको छ । पहिलो चरणमा बागबजारदेखि तुफानडाँडातर्फ तीन सय मिटर दुरीमा रहेका १०६ जना घर तथा जग्गा धनीलाई सबै मुआब्जा रकम वितरण गरिएको थियो । दोस्रो चरणमा २८४ जनालाई पनि मुआब्जा वितरण गरिएको छ ।

ताजा समाचार