शुक्लाफाँटा नगरपालिकामा प्रथम वडास्तरिय फुटबल प्रतियोगिता

शुक्लाफाँटाः शुक्लाफाँटा नगरपालिकामा आज देखि प्रथम वडास्तरिय फुटबल प्रतियोगिता सुरु भएको छ । वडा नम्बर ९ को आयोजनामा सुरु भएको प्रतियोगिताको नगर प्रमुख रण बहादु महराले उद्घाटन गर्नु भएको छ । उद्घाटन कार्यक्रममा बोल्दै उहाँले खेलकुदमा नगरपालिका क्षेत्रका खेलाडीको जिल्ला देखि राष्ट्रिय स्तरमा उच्च प्रदर्शनले उत्साहीत भएको बताउनु भयो । खेलकुद क्षेत्रमा चुनौती आउन नदिन साधन श्रोतले भ्याए सम्म कार्य अगाडी बढाईने उहाँले बताउनु भयो ।
“खेलाडीको सुविधाका लागि कवर्ड हल निर्माणको कार्यलाई अगाडी बढाएका छौं” उहाँले भन्नु भयो, “नगरपालिकाको दुई ठाउमा कवर्ड हल निर्माणका क्रममा रहेका छन, नगरपालिकाको उत्तर तर्फका वडालाई लक्षित गरी अर्को वर्ष देखि छुट्टै कवर्ड हल निर्माणका लागि प्रयास गर्छौं ।” नगरपालिकामा खेलकुद विकास समिति गठनका लागि प्रयासरत रहेको उहाँको भनाई थियो ।

नगर उपप्रमुख कल्पना जोशी (पन्त)ले खेलकुदको विकासका लागि नगरस्तरबाट र वडास्तरबाट कार्यक्रम सञ्चालन हुदै आएको बताउनु भयो ।फुटवलका दक्ष खेलाडी उत्पादन गर्ने लक्ष्य राखि प्रतियोगिताको आयोजना गरिएको उल्लेख गर्नु हुदै आयोजक पक्षका तर्फबाट बोल्दै वडा नं ९ का वडा अध्यक्ष रमेश बहादुर ऐरले वडास्तरिय फुटबल प्रतियोगिताबाट छनौट भएका खेलाडीहरु समेटेर नगरस्तरिय टिम गठन गरिने जानकारी दिनु भयो । प्रतियोगितमा १० वटा वडाका ११ वटा फुटवल टिमले सहभागीता जनाएका छन । अध्यक्ष ऐरका अनुसार प्रतियोगितामा प्रथम हुने टिमलाई रु ५१ हजार नगद सहित ट्रफी,प्रमाणपत्र,द्धितीय हुने टिमलाई रु ३१ हजार नगद सहित ट्रफी,प्रमाणपत्र प्रदान गरिने छ ।

यसैगरी, उत्कृष्ट खेलाडीलाई रु पाँच हजार नगद सहित ट्रफी,प्रमाणपत्र,सर्वाधिक गोलकर्तालाई नगद रु तीन हजार, ट्रफी,प्रमाणपत्र,उत्कृष्ट गोलरक्षकलाई रु दुई हजार नगद,ट्रफी,प्रमाणपत्र तथा अनुशासित टिमलाई रु दुई हजार नगद सहित ट्रफी,प्रमाणपत्र प्रदान गरिने छ । यसैबीच शुक्रवार सञ्चालन भएको खेलमा वडा नम्बर ६ को टिमसंग वडा नं ९को बी टिम ५–० गोलअन्तरले पराजित भएको छ । अर्को खेलमा वडा नं ३ र वडा नं १० को नतिजा बरावर रहेको छ ।

ताजा समाचार