श्रम स्वीकृतिका लागि फाराम भर्न पाईदा काठमाण्डौं जाने झन्झट हटयो

राजेन्द्रप्रसाद पनेरु / शुक्लाफाँटा :  छ वर्ष मलेशिया बसेर फर्केका शुक्लाफाँटा नगरपालिका ७ सिमलफाँटाका सुरज आग्री पुन: वैदेशिक रोजागारीमा जाने तर्खरमा लाग्नु भएको छ । श्रम स्वीकृतिको अनलाईन फाराम नगरपालिका कार्यालयबाटै निःशुल्क भर्न पाईने भएपछि निकै खुसि देखिनु हुन्छ ।पहिलो पटक वैदेशिक रोजगारीमा जाँदा उहाँले काठमाण्डौं स्थीत वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृतिका लागि फाराम भर्नु भएको थियो । त्यो पनि मेनपावर कम्पनीका व्यक्तिको सहयोगमा भरेका थिए । “श्रम स्वीकृतिको फाराम भर्दा सम्पूर्ण व्यक्तिगत विवरण त्रुटि पूर्ण थिए” उहाँले भन्नु भयो, “नगरपालिका कार्यालयबाटै स्वयं उपस्थीत भएर तथ्यपरक विवरण फाराममा भर्न लगाएका छौं, फाराम भर्नकै लागि काठमाण्डौं जाने झन्झट पनि हटेर गएको छ ।” “श्रम स्वीकृतिको फाराम भर्नकै लागि काठमाण्डौं जानु पर्दा निकै खर्च गर्नु पर्ने झन्झट,बस मार्फत जाँदा सडक अबरुद्ध हुदाको सास्ती, होटेलको खर्च निकै हुन्थ्यो” अर्का मलेशिया जानकै लागि श्रम स्वीकृतिका लागि नगरपालिका कार्यालय पुग्नु भएका हरिश आग्रीले भन्नु भयो, “सेवाग्राहीको चापले विहान चार बजे लाईमा बस्दा पालो पाईदैनथ्यो, दोश्रो दिनका लागि कुर्नु पर्दथ्यो, दलाललाई पैशा नदिदा कामै हुन गाह्रो हुन्थ्यो ।”
अहिले नगरपालिकामै श्रम स्वीकृतिका लागि अनलाईन मार्फत भुक्तानी गर्ने व्यवस्था हुदा सहज भएको उहाँ बताउनु हुन्छ ।
वैदेशिक रोजगारीका लागि सबै प्रकारको श्रम स्वीकृतिको आवेदन स्थानिय तहको रोजागार शाखाबाटै भर्न सकिने व्यवस्था रहेको नगरपालिकाको रोजगार शाखाका प्राविधिक सहायक धिरज ऐरले बताउनु भयो ।

चालु आबको वैशाख महिना देखि पालिका अन्र्तगतका रोजगार सेवा केन्द्र मार्फत वैदेशिक रोजगारीमा जानेहरुको श्रम स्वीकृतिको आवेदन लिन थालिएको छ । यो सेवा सञ्चालन भएपछि नगरपालिकाको रोजगार शाखाबाट ३२ जनाले श्रम स्वीकिृतिका लागि आवेदन भरेका छन । आवेदन भर्नेमा पुरुषहरुको सङख्या अधिक रहेको छ । महिलाको सङख्या न्यून रहेको छ । श्रम स्वीकृतिका लागि फारम भर्न आउनेमा मलेशिया, दुवई, साउदी अरेविया, कतार, संयुक्त अरव अमिरेटस, कुवेत, बहराईन, पर्चुगल लगायत देशमा वैदेशिक रोजगारीमा जानेहरु रहेका छन । “राहदानी, वैदेशिक रोजगारीमा पठाउने कम्पनी संगको सम्झौता पत्र, भिजा, स्वघोषणा पत्र, बैंक चेक, नागरिकता, इच्छाएको व्यक्तिको नागरिकता, बीमा गरेको कागजात, सामाजिक कोष संगको आवद्धता हेरेर मात्रै आवेदन भर्ने गरेका छौं” रोजगार शाखका प्राविधिक सहायक ऐरले भन्नु भयो, “वैदेशिक रोजगारीमा जाँदा अपनाउनु पर्ने सावधानी बारे समेत सम्झाउने बुझाउने गरेका छौं ।” रोजगारदाता, रोजगारीमा जाने व्यक्ति र इच्छाएका व्यक्तिको नाम ठेगाना संगै सम्पर्क नम्बर राखिने भएकाले विदेशमा अप्ठेरो परे सहयोग गर्न सकिने उहाँ बताउनु हुन्छ ।

वैदेशिक रोजगार ऐन २०६४ तथा वैदेशिक रोजगार नियमावली २०६४ मा भएको व्यवस्था अनुसार वैदेशिक रोजगारीमा जाने हरेक नेपालीले श्रम स्वीकृति लिनु पर्ने व्यवस्था रहेको छ ।वैदेशिक रोजगारलाई थप व्यवस्थीत, मर्यादित, सुरक्षित, भरपर्दो र सहज बनाउनका लागि व्यक्तिगत श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृतिका लागि अनलाईन मार्फत फाराम भर्ने व्यवस्था गरिएको रोजगार शाखका संयोजक कृष्ण भट्ट बताउनु हुन्छ । उहाँका अनुसार श्रम स्वीकृतिका लागि कल्याणकारी कोषका लागि रु एक हजार पाँच सय, सामाजिक सुरक्षा कोषका लागि रु दुई हजार दुई शुःल्क बुझाउनु पर्ने हुन्छ । यसैगरी, १८ वर्ष देखि ३५ वर्ष समुहका लागि रु तीन हजार सात सय आठ, ३६ देखि ५० वर्ष समुहका लागि रु चार हजार नौ सय ३१ र ५१ देखि ६५ वर्ष समुहका लागि रु नौ हजार चार सय ६३ म्यादी जिवन बीमाका लागि शुःल्क निर्धारण गरिएको छ । सेवाग्राहीलाई शुःल्क खल्ती एप तथा इ सेवाबाट बुझाउन सकिने व्यवस्था गरिएको छ ।

ताजा समाचार