शुक्लाफाँटा बहुप्राविधिक शिक्षालयको भवन निर्माणको कार्य अन्तिम चरणमा


कञ्चनपुर :  प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) द्वारा सञ्चालित शुक्लाफाँटा बहुप्राविधिक शिक्षालयको भवन निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । शुक्लाफाँटा नगरपालिका ११ अमरपुरमा रु चार करोड १८ लाखको लागतमा भवन निर्माणको कार्य भैरहेको छ । भवन निर्माणको ९० प्रतिशत कार्य पुरा भएको छ । शिक्षालयका प्रमुख दिपक सिंह बिष्टका अनुसार तीन तले भवनमा ११ वटा कक्षा कोठा, नौ वटा सौचालय निर्माण गरिएका छन ।
“चण्डीदेवी निर्माण सेवाले दश महिनाभित्र भवन निर्माण पूरा गर्नका लागि सम्झौता गरे अनुसार भवन निर्माणको कार्य गरिएको छ” उहाँले भन्नु भयो, “मङसीर मसान्त भित्रै भवन निर्माणका सम्पूर्ण कार्य पुरा हुन्छन ।” निर्माण भएको भवन हस्तान्तरण भए संगै पठनपाठनको कार्य शुरु गरिने उहाँले बताउनु भयो ।

भवन अपाङग मैत्री संगै भूकम्प प्रतिरोधी रहेको उहाँले जानकाी दिनु भयो । भवन तीन हजार चार सय बर्ग मिटर क्षेत्रफलमा निर्माण भैरहेको छ ।शिक्षालयको आफ्नो भवन नहुदा कृष्ण वैजनाथ बहुमुखी क्याम्पसको भवनमा कक्षा र कार्यालय सञ्चालन हुँदै आएको छ । शिक्षालयको भौतिक संरचना निर्माणका लागि नौ बिघा सात कट्ठा जग्गा उपलब्ध गराइएको छ । उपलब्ध गराइएको सार्वजनिक जग्गाको स्वामित्व शिक्षालयलाई दिइएको छ । शिक्षालय भवन निर्माणको कार्यसँगै विद्यार्थीलाई प्रयोगात्मक कक्षाका लागि गत वर्ष रु २० लाख ३४ हजारको लागतमा वर्कसप निर्माण गरिएको थियो ।
वर्क सपमा निर्माणसम्बन्धीका लागि सामग्रीसँगै मेकानिकल मेसिन राखिएको छ । विसं २०७६ मा स्थापना भएको शिक्षालयमा सिभिल, मेकानिकल र अटोमोबाइलका कक्षा सञ्चालन हुँदै आएका छन् ।

शिक्षालयको पूर्वाधार निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) तयार गरे अनुसार शिक्षालय भवन निर्माण गरिएको प्रमुख बिष्टले बताउनु भयो ।प्रतिवेदन अनुसार बहुबर्षिय योजना अनुसार शिक्षालयको मुख्य प्रवेशद्वार, गार्ड हाउस, पार्किङस्थल, मुख्य प्रशासकीय भवन, अध्ययन कक्ष १ र २ एसेम्बली ग्राउन्ड, प्रयोगशाला, पुस्तकालय, क्यान्टिन, खुला खेलकुद मैदान र आन्तरिक मार्ग जोडने पुल निर्माण गरिने छ । यसैगरी स्टाफ क्वाटर, होस्टेल, भलिबल कोर्ट, ब्याटमिन्टन कोर्ट, फुटबल ग्राउन्ड, प्रिन्सिपल क्वाटर, ल्याब एन्ड वर्कशप, ट्वाइलेट, बैठक कक्ष, सरस्वती मन्दिर, ओभरहेड पानी ट्याङ्की, इलेक्ट्रिक वर्कशप, मेकानिकल मेसिन एन्ड सिएनसी वर्कशप, मेडिकल फ्रेब्रिकेशन वर्कशप आदि निर्माण गरिनेछन् । जसका लागि रु २० करोड खर्च हुने अनुमान गरिएको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img