बेलौरी : कञ्चनपुरको बेलौरी नगरपालिकाले लागु औषध विरुद्धको महाअभियान सञ्चालन गर्ने भएको छ । सोमवार पत्रकार सम्मेलन गर्दै पालिकाले असोज २६ गतेदेखी विभिन्न जनचेतना मुलक कार्यक्रम गर्दै लागुऔषध विरुद्धको महाअभियान सञ्चालन गर्ने जानकारी दिएको छ।बेलौरी नगरपालिका भारतिय सिमा नजिक रहेको कारण लागुऔषधका प्रयोगकर्ता र व्यापारीहरुले यही नाका प्रयोग गर्ने भन्दै यसको रोकथाम र नागरिक सचेतनाका लागि उक्त अभियान सञ्चालन गर्न लागिएको नगर प्रमुख पोतिलाल चौधरीले जानकारी दिएका छन्।

विगत ५ वर्षमा बेलौरी नगरपालिका क्षेत्रबाट लगभग २ सय जना लागुऔषधका प्रयोगकर्ता, व्यपारीहरु पक्राउ परेको तथ्याङक प्रहरीले दिएको र जसमध्ये ९१ जना माथी मुद्धा चलाईएको नगर प्रमुख चौधरीले बताए । लागुऔषध सेवन गर्नेको संख्या प्रत्येक वर्ष बढदै गईरहेको अवस्थामा अब आउने केही वर्षमा प्रत्येक घरमा एकजना लागुऔषध प्रयोगकर्ता फेला पर्न सक्ने चिन्ताजनक वातावरण निर्माण भईरहेको उनको भनाई रहेको छ। पालिकाबाट यो कुलतको अन्त्य गर्ने उद्देश्यले महाअभियानको थालनी गरिएको नगर प्रमुख चौधरीले बताए । बेलौरी नगरपालिका र इलाका प्रहरी कार्यालय बेलौरीको संयुक्त आयोजनामा असोज २६ गते बेलौरीको खुलामञ्चमा सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाह सहितका अन्य विशिष्ट व्यक्ति समेतको उपस्थितिमा लागु औषध विरुद्धको महाअभियान शुभारम्भ गरिने नगर प्रमुख चौधरीले जानकारी दिएका छन् ।

उक्त महाअभियानको दिनमा विभिन्न जनचेतना मुलक लेखहरु लेखिएका ४ हजार टिसर्ट को पनि व्यवस्था गरिएको नगर उहाँले बताउनुभयो। साथै पालिकाले लागु पदार्थ सेवनकर्तालाई जाँच गर्ने मेसिन पनि ईलाका प्रहरी कर्यालयलाई प्रदान गर्ने भएको छ । संकास्पद व्यक्तिलाई चेकजाँच गर्दा लागुपदार्थ सेवन गरेको छ वा छैन भनेर पत्ता लाग्ने भएकोले उक्त मेसिन खरिद गरी प्रहरीलाई दिइने नगर प्रमुख चौधरीको भनाई रहेको छ। ईलाका प्रहरी कार्यलय बेलौरीका ईन्चार्ज प्रहरी निरिक्षक गौरीप्रशाद जैशीले बजारमा बढदै गएको लागुऔषधको बजार मागलाई कम गर्ने, उत्पादनलाई कम गर्ने र यसबाट हुने असर क्षतीबारे जानकारी प्रदान गर्न बिभिन्न कार्यक्रमको आयोजना गरिने उनले बताएका छन् । साथै पक्राउ गरेर मात्रै यसको समाधान नभएर प्रयोग गर्न भन्दा पहिले नै जनचेतना मुलक कार्यक्रम गरी युवाहरुलाई सचेत गराउनका लागी पालिकासंग को सहकार्यमा महाअभियान गर्न लागेको उनले बताए ।







