नेपालगन्ज : नेपालगन्जमा अनिश्चितकालका लागि कर्फ्यु जारी गरिएको छ। हिन्दू र मुस्लिमबीच झडप हुने सम्भावना बढेपछि बाँके प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो। नरैनापुरका एक युवाले सामाजिक सञ्जाल फेसबुक पेजमा इस्लाम धर्मविरुद्ध स्टाटस लेखेको विरोधमा इस्लाम धर्मावलम्बीहरूले आइतबार नेपालगन्जमा प्रदर्शन गरेका थिए।
उक्त प्रदर्शनको विरोधमा हिन्दू धर्मवलम्बीले आज प्रदर्शन गरेपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गरी २४ घन्टाका लागि कर्फ्यु जारी गरेको प्रमुख जिल्ला अधिकारी विपिन आचार्य को हस्ताक्षर सूचना पत्रमा उल्लेख गरिएको छ।
नेपालगन्ज उपमहानगरपालिकाको चार किल्लामा सभा, सम्मेलन, प्रदर्शन गर्न निषेध गरिएको छ। उनले पूर्वमा राप्ती नदी, दक्षिणमा जमुनाहा, उत्तरमा राँझा चोक र पश्चिममा इन्द्र गाउँ जाने बाटोसम्म कर्फ्यु जारी गरिएको सूचनामा उल्लेख गरिएको छ।






