कञ्चनपुर : राष्ट्रिय जेष्ठ नागरिक समाज नेपालले ३३ औं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस भव्यताका साथ सम्पन्न गरिरहेको बेला उहाँहरूको मुस्कानमा कता कता हासौं भित्र आँसु लुकेको प्रष्ट देख्न सकिन्छ । जसलाई ‘जिउँदा भगवान’ भनिन्छ । वहाँहरूले वृद्ध आश्रमको विरोध गरेको सुनिन्छ । ‘वृद्ध आश्रम होइन हामीलाई घरमा बस्ने वातावरण बनाउनु पर्छ ।’ वहाँहरूको चित्कार सुन्दा अरूको दुःख देखेर सायद आफ्नो भविष्य जस्तो लागेर पनि वृद्ध आश्रमको विरोध गरेको जस्तो लाग्छ ।
कुनै पनि देशका जेष्ठ नागरिक त्यस देशको गहना र इतिहास हुन् । उनीहरूले आफ्नो उमेर सँगै विभिन्न क्षेत्रको अनुभव बटुल्नको साथै दुःख, सुख भोगेका हुन्छन् । जसले गर्दा अनुसन्धान कर्ताले उनीहरूको भोगाइबाट अनुसन्धान गरी धेरै कुराको तथ्य फेला पारेका छन् । समय परिर्वतनशिल भएको हुदाँ हिजोको समय आज परिर्वतन भई जाने हुँदा विगतका इतिहास उनीहरू बाटै थाहा पाईन्छ । तर समाजमा उनीहरूको महिमा, कथा, व्यथा, र योगदान नबुझ्दा धेरै आमा बुवा अहिले वृद्ध आश्रममा कैदी सरहको जीवन बिताउन पुगेका छन् । आफ्नै छोरा छोरी जसलाई एउटा आमाले नौ महिना आफ्नो कोखमा राखी जन्म दिन्छिन् एउटा बुबाले आफ्नो जीवन सबै त्यही बच्चामा लुटाएका हुन्छन् । त्यही छोरा, छोरी ठूला भए र आफ्ना खुट्टामा उभिएपछि ती आमा बुवा उनीहरूलाई सबै भन्दा झन्झटिलो, धेरै किच-किच गर्न र उनीहरूलाई हेला गरेको महसुस गरी आफ्ना भगवान सरी आमा बुबालाई वृद्ध आश्रम बस्न बाध्य गराउने गर्दछन् ।
जसले गर्दा अहिले हाम्रै समाजमा दिन प्रतिदिन वृद्ध आश्रम वृद्धि हुने क्रम जारी छ । हुन त सबै छोरा छोरीले त्यसै गर्दैनन् तर अहिलेको समयमा पहिलेको जस्तो धेरै छोरा छोरी नभई दुईटा छोरा छोरीमा सीमित भएको अवस्थामा, आमा बुबालाई एक्लै छाडेर विदेश जाने क्रम बढ्दा पनि आफ्नै घरमा बेसहारा हुने आमा बुबाको पनि कमी छैन् । अहिले देशको आर्थिक अवस्था, बेरोजगारी, र यहाँको राजनैतिक अवस्थाको बाहना बनाई युवा, युवतीहरूले विदेश जाने गरेका छन् । जसले गर्दा पहाडका डाँडा काँडा त रतिएका छन् भने तराईका गाउँ घर पनि युवा विहीन भई सकेका छन् । लाखौ युवा देश छोडेर विदेश जाने लहडले गाँउ घर सबै शून्य भई सकेका छन् ।
गाँउ घरमा रहेका युवा पनि नसालु पदार्थको चङ्गुलमा दिन प्रतिदिन फस्दै गएका छन् । यसरी युवाहरू विदेश जाने र नसालु पर्दाको प्रयोग कर्ता बन्दै जाँदा वृद्ध आमा बुबालाई उनीहरू सँगै आफ्नो पनि चिन्ता लाग्नु स्वभाविक नै हो । बुढेसकाल भनेको एक प्रकारको सेवा निवृत्त जीवन हो । जो उनीहरूले घुम्दै फिर्दै आफ्ना अनुभव बाढ्दै जाने उमेर हो किनकी यो उमेरमा काम गर्न सक्ने क्षमता रहदैन । यो उमेरमा अ?को सहाराका आस हुने गर्दछ । जसले उनीहरूको जीवनको अनुभव सुनी दियोस्, सुख दुःख बाढी दिओस् । त्यसैले विश्वका हरेक देशले जेष्ठ नागरिकहरूलाई उनीहरूको सुविधाको लागि सामाजिक सुरक्षा भत्ताको व्यवस्था गरेको हुन्छ । धेरै जसो जेष्ठ नागरिकले उक्त भत्ताले बुढेसकालमा आफ्ना जरूरत पुरा गरेका हुन्छन् । त्यो भत्ताको रकम सानो भए पनि उनीहरूको सहारा बनको छ ।
अहिलेका युवाहरू भोलिका जेष्ठ नागरिक हुन् । त्यसैले जेष्ठ नागरिकको सम्मान सबैले गर्नु पर्दछ । भोलिका दिनमा आमा बुबाको सेवा नगरेर पश्चताप भन्दा सेवा गरेर गर्व गर्ने सक्नु पर्छ । आमा बुवा जिउँदो हुँदा देखि नसक्नेले समाजमा आफ्नो छवि राम्रो बनाउन र मैले मेरा आमा बुबालाई यति माया गर्थे भनेर देखाउन बुवा आमा मरेर गएपछि उनीहरूको नाममा भोज भतेर खुवाउने विभिन्न स्थानमा पार्टी पौवा निर्माण गर्ने जस्ता कार्य गरेको देखिन्छ, वास्तवमा साँच्चै आमा बुबालाई माया गर्ने मान्छेले जिउँदै हुदाँ वहाँहरूको इच्छा पुरा गर्ने, पार्टी पौवाको निर्माण गरी उनीहरूकै हात बाट उद्घाटन गर्ने, विभिन्न तीर्थ स्थल घुमाउने, भ्रमण गराउने जस्ता कार्य वा आफ्नो दक्ष र सामथ्र्य अनुसार जो सकिन्छ आमा बुबाको सेवा गर्ने, आँखामा आँसु आउन नदिने किनकी कुनै पनि आमा बुबाको धेरै ठुलो सपना चाहना हुदैन उनीहरूको सपना चाहना भनेका उनका सन्तान नै हुन, सन्तानको खुशीमा आमा बुवा आफ्ना सपना पुरा भएको देख्छन् । त्यसैले ३३ औं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस मनाई रहदाँ युवाहरूले ती वृद्ध आमा बुबाको सहारा बन्ने प्रण गरू र उनीहरूलाई खुशी दिई उनीहरूको सम्मान साथ बाँच्न पाउने अधिकारको सुनिश्चिता गरौँ ।