शुक्लाफाँटाका दुई वडा जग्गा नापँजाच सकियो, अब यी वडा हुनेछ नापी


झलारी: शुक्लाफाँटा नगरपालिकाका दुई वडामा जग्गा नापजाँचको काम सम्पन्न भएको छ। वडा नं. १ र ९ मा जग्गा नापजाँचको सम्पन्न गरिएको हो। अहिले नापी कार्यालय कञ्चनपुर र नगरपालिकाको टोलीद्धारा फिल्ड चेकजाँचको काम भइरहेको छ। दुई वडाको जग्गा नापजाँच सम्पन्न गरेर फिल्ड चेकजाँच भइरहेको नगरपालिकाका अमिन हेमराज अवस्थीले बताए। ‘जग्गा नापजाँच गरी संधियार राखेर फिल्ड मुचुल्का तयार गरिन्छ,’ उनले भने, ‘तयार गरिएको नक्सा प्रमाणित गर्न आयोगमा पठाउनुपर्ने हुन्छ । त्यसपछि जग्गाको फिल्डबुक कायम गरी जग्गाधनी प्रमाणपत्र बनाइन्छ ।’ उनका अनुसार वडा नं. १ मा साढे चार सय हेक्टर अर्थात २८ सय कित्ताको नापजाँच गरिएको छ। त्यहाँ जग्गा नापजाँचका लागि १ हजार ७ सयको निवेदन परेको थियो। यसैगरी वडा नं. ९ मा २ हजार हेक्टर अर्थात १ हजार कित्ता नापजाँच गरिएको छ।

यहाँ साढे चार सयले जग्गा नापजाँचका लागि निवेदन दिएका थिए। अब वडा नं. २, ३ र १२ मा जग्गा नापजाँच गरिने नगरपालिकाले जनाएको छ। ‘अहिले अधिकांसले धानखेती गरेका छन्, यस्तो अवस्थामा जग्गा नापजाँच गर्न समस्या हुन्छ,’ अमिन अवस्थीले भने, ‘कृषकहरुले धानखेती कटान गरेपछि जग्गा नापजाँच गर्छौं।’ शुक्लाफाँटाका सबै वडाको जग्गा नापजाँचको काम दुई वर्षभित्र सक्ने नगर प्रमुख रणबहादुर महराले बताए। ‘दुई वडाको जग्गा नापजाँच गरिसकेका छौं,’ उनले भने, ‘अब वडा नं. २, ३, १२ वडामा छुट्टाछुट्टै नापी टोली खटाएर तिब्र रुपमा काम अगाडी बढाउँछौं।’ जनशक्ति र उपकरणको अभावको कारणले नापजाँचमा ढिलाइँ भएको बताउँदै उनले जनशक्ति थपेर नगरवासीलाई जग्गाधनी बनाइने बताए। ‘भूमिहीन, सकुम्बासी, अव्यवस्थित बसोबासीको समस्या सामाधानमा हामी गम्भिर छौं,’ उनले भने, ‘छिटो भन्दा छिटो नगरबासीलाई जग्गाधनी प्रमाणपत्र उपलब्ध गराउने हाम्रो लक्ष्य छ।

’जनशक्ति थपका लागि राष्ट्रिय भूमि आयोगलाई आग्रह गरिएको नगरपालिकाले जनाएको छ। जग्गा नापजाँचको फिल्ड चेकजाँचमा नापी कार्यालय कञ्चनपुरका ईन्जिनियर सुनिता जोशी, सर्भेक्षक बिरेन्द्र चन्द, अमिन खेमराज जोशी, भूमि आयोगका सर्भेक्षक रबि भारती, नापी टोलीका प्रमुख नविनराज जोशी, नगरपालिकाका अमिन हेमराज जोशी खटिएका थिए। नापी कार्यमा खटिएका कर्मचारीलाई जग्गा नापजाँचको कामलाई तिब्रता दिन नगर प्रमुख महराले आग्रह गरेका थिए। शुक्लाफाँटामा १२ हजार अव्यवस्थित बसोबासीले जग्गाधनी प्रमाणपत्रका लागि निवेदन दिएका छन्।


Loading Viewer...

ताजा समाचार

spot_img