कञ्चनपुर : राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन कञ्चनपुरका नेताहरुले सुदूरपश्चिम विश्विद्यालयमा भईरहेको बेथिति बिरुद्धमा अर्को आन्दोलन चर्काउने चेतावनी दिएका छन । राजनीतिक भागबण्डाका आधारमा कर्मचारी, प्रध्यापक सहित विभिन्न निकायमा नियुक्तीको बिरोधमा गत साउनमा तालाबन्दी गरेको राप्रपा निकट विद्यार्थीले आफूहरुका मागप्रति विश्वविद्यालय गैर जिम्मेबार भएकाले आन्दोलनको चेतावनी दिएका हुन । आइतबार महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन कञ्चनपुरका निर्वतमान अध्यक्ष नरेश कार्कीले प्राज्ञिक क्षेत्रमा तलैदेखि माथिसम्म राजनीतिक भागबण्डाले शिक्षा क्षेत्र धरासायी भईरहेको बताए ।

‘भागबण्डामा आधारमका नियुक्तीले विश्वविद्यालय भन्दा दलप्रति उत्तरदायी हुने भएकाले यो प्रकृयाले थिति भन्दा बेथिति मौलाएको छ, त्यसलाई हामीले अन्त्य गर्नुपर्छ ।’ विद्यार्थी सगठनले तालाबन्दी गरेको एक भन्दा भन्दा बढी समय वितिसक्दा पनि कुनै पहल समेत नभएको बताए । ‘हाम्रो संगठनले राजनीतिक भागबण्डा बिरुद्धमा केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको आज ३६औँ दिनभसक्यो, तर कसैलाई चासो समेत भएन, ‘उनले भने, ‘पदाधिकारी गैर जिम्मेबार देखिए, त्यसको नतिजा भदौँ १०पछि थाहा पाउँलान ।’ राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन सुप विश्वविद्यालय इकाई अध्यक्ष प्रेम रावलले आफुहरु भागबण्डाका लागि नभई शिक्षा क्षे्त्रमा सुधारका लागि राजनीतिक दलको भागबण्डाको बिरोधमा उत्रिएको बताए । ‘विश्वविद्यालयमा काम गर्ने कर्मचारी र शिक्षकलाई राजनीतिक आधारमा जिम्मेबारी दिए, उ विश्वविद्यालयको कामकाज भन्दा पनि दलप्रति बढि बफादार हुन्छ, ‘उनले भने, ‘शिक्षा क्षेत्र सुधारका लागि दलगत भागबण्डा अन्त्य हुनुपर्छ ।’

शिक्षकले लामो समय पार्टीको कामकाज र सम्मेलन जाँदा समेत विश्वविद्यालयमा झन समस्या निम्तिएको बताए । ‘सुप विश्विद्यालयमा रहेको सेवा आयोगको काम छैन, ‘उनले भने, ‘सेवा आयोग पनि आफु निकटलाई भर्ती गर्ने केन्द्र मात्रै हो ।’ अध्यक्ष रावलले यस अघि सुप विश्वविद्यालयले आंगिक क्याम्पस तथा विभागिय प्रमुखदेखि अन्य विभाग क्षेत्रमा नियुक्त गरेका व्यक्ति भन्दा बाहिरपनि जेष्ठ र क्षमतावान प्राध्यापक रहेको बताए । कतै राप्रपा निकट विद्यार्थीले समेत आन्दोलन गरेर भागबण्डा त माग्न खोजेको त होईन ? भन्ने पत्रकारको जिज्ञासामा उनीहरुले भागबण्डा मागेकै दिन पदबाट राजिनामा दिने घोषणा गरेका छन ।







