
दोधारा । नेपाल सरकारले गरिवहरुका लागि जनता आवास कार्यक्रम ल्याए पनि दोधारा चाँदनी नगरपालिका– ३ बडबाल टोलका बादी घरपरिवारलाई भने आवास कार्यक्रमले छोएको छैन् । पुर्खोली पेशा मादल बनाउने, नाचगान गरि गुजारा चलाउने बडबाल टोलका बादी समुदायलाई सरकारको आवास कार्यक्रम अन्तर्गत समेट्न नसकेको हो । आफ्नो घर जग्गा नभएका बादी समुदायलाई सरकारले नहेरेपछि पुन : पुरानै पेशामा फर्किन बाध्य भएका छन् । केही बर्ष अघि आफ्ना र अर्काका पीडादाय गीतको भाका गाउदै आवश्यक खाद्यान्न र रुपैयाँ संकलन गरिरहेका बादी समुदायहरु नयाँ जीवन जिउने रणनीतिका लागि अहिले पनि संघर्षरत छन् । बादी समुदाय पुरानो पेशबाट मुक्ती पाएर नयाँ जीवन निर्वाह गर्न चाहेको उनीहरु बताउछन् । सरकारले फुसका छानालाई विस्तापित गर्ने योजना बनाए पनि बडवाल टोलका बादी घरपरिवार अझै पनि च्यात्तिएको त्रिपाल मुनि रात काट्न बाध्य छन् ।

‘राती भरी हावा पानीले त्रिपाल च्यातिदिन्छ, बिहान च्यातिएको त्रिपाल सियरै रात काट्दै आएका छौं’ बादी समुदायका अगुवा बिरभाने बादीले भने, ‘छिमेकीको घरहरुमा झमल्ल बत्ती बल्छ, तर हामीले अहिले सम्म आगोको सहारामा रात विताउने गरेका छौं ।’ राती भुईमै सुत्ने गरेका कारण सर्पले डस्छ की भन्ने डर लाग्ने गरेको उनले बताए । बडवाल टोलमा ५ घरधुरीमा झण्डै ४५ जना बादीहरु रहेका छन् । अहिले उनीहरुले जगबुडा नदीको किनारमा माछा मारेर र गाँउमा गएर मजुरी गरेर आएको रुपैयाँले साँझ बिहान छाँक टार्ने गरेका छन् । ‘मादल बनाउनको लागी छाला र काठ पाईदैन् । पहिला जस्तो मादलको माँग पनि आउदैन् । सबै डिजे साँउण्डले हाम्रो पेशालाई सक्कायो’ बिरभाने बादी भने ।

तत्कालिन नेकपा माओवादीको सशस्त्र दन्द्धको समयमा ज्यान जोगाउन बडवाल टोलका बादी घरपरिवार परिवार भारत पलायान भएका थिए । उनिहरु झण्डै एक वर्ष अघि मात्रै फर्केका हुन् । नेपाल सरकारले सुकुम्वासीहरुलाई जग्गा दिने सुनेपछि भारतबाट फर्केको उनीहरु बताउछन् । छिमेकीको घरमा साना छोराछोरीलाई मिठो मसिनो खुवाएको देख्दा आफ्नो घरमा आधा पेट खाएर बाँकी छोराछोरीलाई दिई प्राण बचाउनु परेको लक्ष्मी बादी बताउछिन् ।

‘बिहान खाए, बेलुकी के खाने भन्ने चिन्ताले सताउने गर्छ’ लक्ष्मी बादीले भनिन्– ‘स्थानिय सरकार देखि प्रदेश र संघिय सरकारलाई समस्या हल गर्न बिन्ती गर्दै आएपनि हाम्रो कुरा सुन्ने कोही भएनन् ।’ यस्तै बादी परिवारका अर्का सदस्य रेशम बादीलाई छोराछोरी पढाउने ईच्छा भए पनि कपडा किन्ने, कापी कलम किन्ने पैसा नहुदा विद्यालय पठाउन नसकेको पीडा सुनाए । आधुनिक प्राविधिका कारण मादलको महत्व घट्दै आएको उनको भनाई छ् ।
पुर्खौली पेशा माछा मारेर, मादल बनाएर जिवन निर्वाह गर्ने, नाच गाना गरि गुजारा चलाउने बादी समुदाय अहिले विस्तारै सो पेशा छाड्न बाध्य भएको उनको भनाई छ् ।






