कञ्चनपुर : शुक्लाफाँटा नगरपालिकाका कृषक समुहमा आवद्ध अपाङगता भएका व्यक्तिहरुलाई बिहीवार बाख्रा वितरण गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरको वार्षिक स्वीकृत कार्यक्रम अनुसार शुक्लाफाँटा अपाङगता कृषक समुहमा आवद्ध १५ जनालाई ३० वटा बाख्रा वितरण गरिएको हो । एक जनालाई दुई वटाका दरले बाख्रा वितरण गरिएको छ । विज्ञ केन्द्रको रु चार लाख बजेटमा बाख्रा वितरणको कार्य गरिएको छ । नगरपालिकाको वडा नं १० का वडा अध्यक्ष लाल बहादुर ऐर र विज्ञ केन्द्रका प्राविधिक अधिकृत दिर्धकुमार स्वाँरले संयुक्त रुपमा बाख्रा वितरण गर्नु भएको छ । बाख्रा वितरण कार्यक्रममा बोल्दै वडा अध्यक्ष ऐरले बाख्रा पाएका व्यक्तिहरुको आर्थिक अबस्थामा सुधार आउने बताउनु भयो । जीवन जीउने माध्यम बाख्रापालनको कार्य हुने उहाँले बताउनु भयो ।

विज्ञ केन्द्रका प्राविधिक अधिकृत स्वाँरले बाख्रापालनको कार्यलाई व्यवसायीक बनाई समाजमा अपाङता भएका व्यक्तिहरुले पनि व्यवसाय गर्न सक्षम छन भनेर देखाउनु पर्ने बताउनु भयो । दुई बाख्राबाट एक वर्षमा दश बाख्रा पालेको हेर्न पाउने गरी नमूनको कार्य गर्नु पर्ने उहाँले बताउनु भयो । स्थानिय तहबाट विनियोजन हुने बजेटमा अपाङता भएका व्यक्तिहरुलाई समेटनु पर्छ उहाँले भन्नु भयो, अपाङता भएका व्यक्तिहरुको आयआर्जन, क्षमता अभिबृद्धि र स्वरोजगार कार्यक्रमका लागि नगरपालिको बजेटको व्यवस्था गर्नु पर्छ । कृषि व्यवसायलाई चलायमान बनाउनका लागि कृषि क्षेत्रको अहं भूमिका रहने उहाँले उल्लेख गर्नु भयो । शुक्लाफाँटा कृषक समुहका अध्यक्ष हरिदत्त भट्टले बाख्रा खरिद समिति गठन गरी बाख्रा खरिद गरि वितरण गरिएको कार्यक्रममा जानकारी दिनु भयो । नगर प्रमुखले कार्यक्रम सञ्चालनका लागि म्याचिङफण्डबाट साझेदारी गरिने अश्वासन दिएर वेवास्ता गरेको उहाँले बताउनु भयो ।

अधिकारको लडाई लडनका लागि अपाङगता भएका व्यक्तिहरुले अगाडी बढनु पर्ने उहाँले बताउनु भयो । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरका प्रमुख पानसिंह ठगुन्नाले अपाङता भएका व्यक्तिहरुलाई अनुदानमा बाख्रा उपलव्ध गराई आत्मनिर्भर बनाउनका लागि कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनु भयो । यस कार्यले अपाङता भएका व्यक्तिहरुको समाजमा हेर्ने दृष्टीकोणमा परिवर्तन ल्याउन मद्दत पुग्ने उहाँले प्रतिक्रिया दिनु भयो । बाख्रा वितरण कार्यक्रमका प्रमुख अतिथिका रुपमा वडा अध्यक्ष लाल बहादुर ऐर, बिशिष्ट अतिथि विज्ञ केन्द्रका प्राविधिक अधिकृत दिर्धकुमार स्वाँर, अतिथिमा स्वालम्बी अपाङता कृषक समुह भीमदत्तका कोषाध्यक्ष घनश्याम ओझा, बेदकोट अपाङता कृषक समुहका कोषाध्यक्ष प्रेम बोहरा लगायतको उपस्थीति रहेको थियो । कार्यक्रमको सञ्चालन कालिप्रसाद चौधरीले गर्नु भएको थियो ।







