कञ्चनपुर : महाशिवरात्रीको पूर्व सन्ध्यामा शुक्लाफाँटा नगरपालिका १० झलारीमा लघुरुद्री दिव्यानुष्ठानको आयोजना गरिने भएको छ । रामजानकी मन्दिर राधाकृष्ण भागवत आश्रम, गुरुकुल परिवार बाँकेले फागुन ४ गते एक दिवसीय दिव्यानुष्ठान आयोजना गर्न लागेको हो । २१ ब्राम्हण द्वारा रुद्रीपाठ संगै हवनको कार्य गरिने छ । एउटा मालामा एउटा पुष्प गुथेझै मालात्मक लघुरुद्रीको श्रृङखलामा एउटा कडी जोडिने कार्यक्रमका संयोजक मोहन चन्द्र जोशीले बताउनु भयो ।

“दिव्यानुष्ठानमा १०९ लघुरुद्री पूर्ण पाठ गरेर मात्रै हवानात्मक १२ लघुरुद्री हुने छ” उहाँले भन्नु भयो, “ग्रहशान्ती, मनमा सन्तुष्टि, आधिव्याधी, गृहकलेसबाट निवृत्ति, धर्म प्रवृति, संस्कार र संस्कृतिको जागृति, इच्छापूर्ती, राष्ट्रमा शान्तिका लागि हवनको कार्य गरिने छ ।” सनातन धर्म संस्कृतिको जगेर्ना गर्नका लागि यस क्षेत्रमा दिव्यानुष्ठान पहिलो पटक हुन लागेको झलारी शिव मन्दिर लघुरुद्री संयोजक समितिका सदस्य बसन्तराज पाण्डेयले बताउनु भयो । उहाँका अनुसार धार्मिक अनुष्ठानमा बाल्टी, बाटा, लोटा, पाँच कटौरी, शंख घण्टी, दुई थाली, दुना टपरी, चन्दन, जौ, तील, कुश, पञ्चामृत, नैवेद्य, फलफुल, बेलपत्र,दुवो,जनै लगायतका सामग्री राखेर पूजा गरिने छ ।







